गोंगबु नयाँ बसपार्कमा मानव बेचबिखन र लागूऔषधविरुद्ध सप्ताहव्यापी अभियान सुरु
काठमाडौँ, २२ असार । काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा ‘मानव बेचबिखन र लागूऔषधविरुद्ध सप्ताहव्यापी सचेतना कार्यक्रम’ सुरु भएको छ। प्रहरी प्रभाग नयाँ बसपार्क र सामुदायिक सेवा केन्द्र गोंगबुको संयुक्त आयोजनामा मानव बेचबिखन नियन्त्रण र युवा पुस्तालाई लागूऔषधको दुर्व्यसनबाट जोगाउने उद्देश्यका साथ सो कार्यक्रम सुरु गरिएको हो।
कार्यक्रममा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुशीलसिंह राठौरले सुरक्षित र अपराधमुक्त समाज निर्माणका लागि नागरिक र प्रहरीबीचको साझेदारी अपरिहार्य रहेको बताए। उनले युवा पुस्तामा बढ्दै गएको लागूऔषधको लत र समाजमा लुकेर रहने मानव बेचबिखनका घटना नियन्त्रण गर्न यस्ता सचेतनामूलक अभियान प्रभावकारी हुने भन्दै यसका विरुद्ध सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेले नयाँ बसपार्क क्षेत्रमा देखिने लागूऔषधको दुर्व्यसन तथा मानव बेचबिखनका समस्या रोक्न सामूहिक प्रयास आवश्यक रहेको औंल्याए। यस्तै, टोखा नगरपालिका–९ का वडाध्यक्ष रामभक्त घिमिरेले गोंगबु क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन स्थानीय सरकारले प्रहरीसँग नियमित रूपमा सहकार्य गरिरहेको जानकारी दिए।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सार्वजनिक यातायातको माध्यमबाट लागूऔषध ओसारपसार हुन सक्ने जोखिम औंल्याउँदै सवारी साधनमा यात्रु चढाउँदा र सामान राख्दा चालक तथा सहचालकले विशेष सावधानी अपनाउनुपर्ने धारणा राखे।
प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख शङ्कर श्रेष्ठका अनुसार सप्ताहव्यापी अभियान अन्तर्गत गोंगबु बसपार्क क्षेत्रका होटल, रेस्टुरेन्ट, दोहोरी साँझ, विद्यालय तथा सार्वजनिक स्थानहरूमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ। उद्घाटन कार्यक्रममा महर्षि कलेज र बीएसटी कलेजका विद्यार्थीहरू, स्थानीय व्यवसायी तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।