हामी नर्कबाट फर्कियौँ’ : रुसको कब्जामा रहेको युक्रेनी सहरबाट वर्षौंपछि सयौँ नागरिकको उद्धार

ओलेश्की (युक्रेन)। रुसको कब्जामा रहेको युक्रेनको दक्षिणी सहर ओलेश्कीमा वर्षौंदेखि युद्ध, भोकमरी र निरन्तर गोलाबारीको त्रासमा जीवन बिताएका सयौँ नागरिक सुरक्षित स्थानमा पुगेका छन्। उनीहरूले आफ्नो विगतको अवस्थालाई ‘नर्क’को संज्ञा दिँदै त्यहाँबाट बाहिरिन पाउनु नयाँ जीवन पाएसरह भएको बताएका छन्।

उद्धार भएर उत्तरी युक्रेनको चेर्निहिभ क्षेत्रमा पुगेकी ओल्हाले पछिल्ला केही वर्षको जीवनलाई एउटा शब्दमा ‘भयावह’ भन्दै वर्णन गरिन्। उनका श्रीमान् भियाचेस्लाभले भने, ‘हामी नर्कबाट फर्किएका छौँ’ भने।

शनिबार बेलारुस हुँदै उत्तरी युक्रेन प्रवेश गरेका सयौँ विस्थापितमध्ये उनीहरू पनि थिए। उद्धार गरिएका धेरै नागरिक वर्षौंदेखि भेट्न नपाएका आफन्तसँग पुनर्मिलन भएका छन्।

सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेको केही दिनमै ओलेश्की सहर कब्जा गरेको थियो। एकातिर डिनिप्रो नदी र अर्कोतिर रुसी सेनाको घेराबन्दीमा रहेको यो सहरका बासिन्दाका लागि बाहिरिन निकै जोखिमपूर्ण बनेको थियो।

ओल्हा र भियाचेस्लाभ आफ्ना ३० वर्ष आसपासका छोरा र छोरीसँग त्यहीँ बस्दै आएका थिए। आसपासमा गोलाबारी बढ्दै गए पनि उनीहरू बाहिरिने आँट गर्न सकेका थिएनन्। भाग्ने बाटोमा बारुदी सुरुङ बिछ्याइएको र ड्रोन आक्रमणको जोखिम रहेकाले बाहिरिनु झन् खतरनाक हुने उनीहरूको डर थियो।

समय बित्दै जाँदा खाद्यान्नको अभाव चुलिँदै गएको थियो। ओल्हाका अनुसार यसै महिनाको सुरुमा उनीहरूले खानेकुरा खोज्न बारुदी सुरुङ बिछ्याइएको क्षेत्र पार गर्ने प्रयास गरेका थिए।

‘मानिसहरू बाँच्नकै लागि बारुदी सुरुङमा परिरहेका थिए। कोही ज्यान गुमाइरहेका थिए भने कोही अंगभंग भइरहेका थिए,’ उनले बीबीसीसँग भनिन्।

सहरबाहिर निस्कन डराउने कतिपय स्थानीयले भोक मेटाउन बगैँचामा उम्रिएका झारपात पकाएर खान थालेका थिए।

‘अवस्था सुधार हुने कुनै संकेत देखिएन। त्यसपछि हामीले यहाँबाट निस्कनैपर्छ भन्ने निष्कर्ष निकाल्यौँ,’ ओल्हाले भनिन्।

मानवीय युद्धविरामपछि उद्धारको अवसर

अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पको मध्यस्थतामा खेरसोन क्षेत्रमा मानवीय युद्धविराम लागू भएपछि ओलेश्कीका बासिन्दाले बाहिरिने अवसर पाएका थिए। उक्त युद्धविरामले चार वर्षयता पहिलोपटक केही दिनका लागि क्षेत्रमा शान्ति कायम गर्न सहयोग गरेको थियो।

ओलेश्की र आसपासका क्षेत्रमा अझै ६ हजारसम्म मानिस बसिरहेको अनुमान गरिएको थियो। तीमध्ये करिब दुई सय बालबालिका थिए भने सहरभित्र मात्रै झन्डै एक हजार सात सय नागरिक रहेको बताइएको थियो।

शुक्रबार स्थानीय बासिन्दालाई सहर छाड्न चार घण्टाको समय दिइएको थियो। उद्धारका लागि २५ वटा बस परिचालन गरिएका थिए, जसबाट ७५० जनासम्मलाई सुरक्षित स्थानमा लैजाने व्यवस्था गरिएको थियो। हिँडडुल गर्न नसक्ने तथा अशक्त नागरिकका लागि एम्बुलेन्ससमेत परिचालन गरिएको थियो।

रुसी नियन्त्रणमा रहेको क्षेत्र पार गरेर दक्षिणी रुस पुगेका उनीहरूलाई त्यहाँबाट हवाईमार्ग हुँदै बेलारुस लगिएको थियो। त्यसपछि बसमार्फत शनिबार चेर्निहिभस्थित एक सैन्य केन्द्रमा पुर्‍याइएको थियो।

उद्धार केन्द्रमा आइपुगेका केही वृद्धवृद्धा अत्यन्त कमजोर अवस्थामा थिए। उनीहरूलाई स्ट्रेचरमा राखेर ओसार्नुपरेको थियो।

वर्षौंपछि आफन्तसँग भावुक पुनर्मिलन

उद्धार केन्द्रमा पुगेका नागरिकमध्ये धेरैका लागि वर्षौंपछि परिवारसँग भेट्ने क्षण निकै भावुक बनेको थियो।

मिखाइलो पालियी आइपुग्नेबित्तिकै उनका छोरीहरू दशा र आन्या दौडिँदै उनीतर्फ आए। बुबालाई फेरि भेट्न नपाइने हो कि भन्ने चिन्तामा रहेका उनीहरू रुँदै र चिच्याउँदै बुबालाई अँगालो हाल्न पुगे।

पालियीले ओलेश्कीमा बिताएको कठिन जीवनबारे केही अनुभव सुनाए। तर परिवारलाई चिन्ता नहोस् भनेर आफूले धेरै कुरा लुकाएको उनले बताए।

‘घरको बाथरुममा समेत विस्फोट भएर प्वाल परेको थियो। ड्रोन आक्रमण र क्षेप्यास्त्र प्रहार भइरहन्थे। यी सबै घटना भएका थिए, तर परिवार चिन्तित हुन्छ भनेर मैले बताइनँ,’ उनले भने।

त्यस्तै, बिरालो बोकेर उद्धार केन्द्र पुगेका टेटियाना र भोलोदिमिर दम्पतीले तीन वर्षअघि आफ्नो घर पूर्ण रूपमा जलेर नष्ट भएको बताए। त्यसयता उनीहरू छिमेकीको खाली घरमा बस्दै आएका थिए।

सुरक्षित रूपमा बाहिरिने अवसर पाएपछि सहर छाड्ने निर्णय गर्न आफूहरूलाई कठिन नभएको टेटियानाले बताइन्।

‘त्यहाँ छाडेर आउनुपर्ने कुनै पछुतो छैन। त्यहाँ हाम्रा आफन्त पनि छैनन्। छोराछोरीको विवाह भइसकेको छ र उनीहरू हामीसँग सहरमा बस्दैनन्,’ उनले भनिन्।

तर सुरक्षित स्थानमा आइपुगेका नागरिकलाई अझै पनि ओलेश्कीमै छुटेका मानिसको चिन्ता छ।

‘त्यहाँ अझै धेरै मानिस त्यस्तै कठिन परिस्थितिमा बसिरहेका छन्,’ ओल्हाले भनिन्।

नयाँ ठाउँमा जीवन पुनःनिर्माण गर्ने चुनौती

युद्धग्रस्त सहरबाट उद्धार भए पनि विस्थापित नागरिकका अगाडि अब नयाँ चुनौती थपिएको छ। उनीहरूले कहाँ बस्ने, कसरी रोजगारी खोज्ने र कसरी फेरि सामान्य जीवन सुरु गर्ने भन्ने टुङ्गो लगाउन बाँकी छ।

पालियीले आफ्नो परिवारको जीविकोपार्जनका लागि काम खोज्ने बताएका छन्। आफू जुनसुकै काम गर्न तयार रहेको उनको भनाइ छ।

‘म कुनै पनि काम गर्न सक्छु। खन्ने, कोदालो चलाउने, रोप्ने, घर बनाउने वा भत्काउने कामसमेत गर्न सक्छु,’ उनले भने।

ओल्हाका अनुसार उनको परिवारको युक्रेनका अन्य क्षेत्रमा नजिकका आफन्त छैनन्। त्यसैले केही परिचित व्यक्तिको घरमा लामो समय बसेर जीवन पुनःव्यवस्थित गर्ने उनीहरूको योजना छ।

वर्षौंसम्म युद्ध र अभावबीच बाँचेर आएका ओल्हाले भविष्यप्रति आशावादी हुँदै भनिन्, ‘यदि हामी नर्कमा बाँच्न सफल भयौँ भने यहाँ पनि बाँच्न सक्छौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *