मध्यपूर्वमा सैन्य तनाव तीव्र: हुथीको नाकाबन्दी धम्कीपछि अमेरिका र इरान आमनेसामने
एजेन्सी, ५ साउन । यमनका हुथी विद्रोहीहरूले साउदी बन्दरगाहमा नाकाबन्दी गर्ने चेतावनी दिएसँगै मध्यपूर्वमा युद्ध थप भड्किने खतरा बढेको छ। यसैबीच, इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य राडार र हवाई रक्षा प्रणालीलाई लक्षित गरी थप निर्णायक र शक्तिशाली आक्रमण गर्ने चेतावनी दिएको छ।
इरानको अर्धसैनिक बल ‘रिभोलुसनरी गार्ड्स’ले होर्मुज जलमार्ग पार गर्न खोजिरहेका दुईवटा तेल ट्याङ्करहरूमाथि आक्रमण गरी नियन्त्रणमा लिएको जनाएको छ। पछिल्लो समय भएका झडपमा तीन अमेरिकी सैनिकको मृत्यु भएपछि संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध नयाँ चरणको सैन्य कारबाही सुरु गरेको छ। यस हवाई आक्रमणको मुख्य उद्देश्य होर्मुज जलमार्गमा व्यापारिक जहाजमाथि हुने इरानी आक्रमण क्षमतालाई कमजोर बनाउनु रहेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ।
यसअघि इरानी सेनाले कुवेत र बहराइनमा रहेका अमेरिकी हवाई रक्षा प्रणाली, राडार तथा प्रशासनिक संरचनाहरूलाई निसाना बनाएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्वमा मारिएका प्रत्येक अमेरिकी सैनिकका लागि इरानले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ भने इरानी राष्ट्रपति मसूद पेजेस्कियनले द्वन्द्व पूर्ण रूपमा भड्किएको टिप्पणी गर्नुभएको छ। पेन्टागनका अनुसार गत जुलाई ७ यता झन्डै १०० जना अमेरिकी सैनिक घाइते भइसकेका छन्।
तेहरान निकट यमनी हुथी विद्रोहीहरूले साउदी बन्दरगाहहरू अवरुद्ध गर्ने घोषणा गरेपछि यसले विश्वव्यापी अर्थतन्त्र र तेल ढुवानीमा गम्भीर असर पार्ने आकलन गरिएको छ। साउदी अरेबियाले हुथीको यस कदमको कडा निन्दा गर्दै आफूले वैधानिक यमनी सरकार र त्यहाँका जनतालाई समर्थन जारी राख्ने स्पष्ट पारेको छ। हाल होर्मुज जलमार्ग अवरुद्ध भए पनि साउदी अरेबियाले लाल सागरस्थित यानबु बन्दरगाहबाट लाखौँ ब्यारेल तेल निर्यात जारी राखेको छ।
गत अप्रिल र जुन महिनामा भएका युद्धविराम सम्झौताहरू भङ्ग भएसँगै मध्यपूर्वमा फेरि द्वन्द्व चर्किएको हो। तेहरानले होर्मुज जलमार्गमा नाकाबन्दी पुनः लागू गरेपछि वासिङ्टनले पनि इरानी बन्दरगाहहरू अवरुद्ध पारेर जवाफ दिएको छ। इन्धन आपूर्ति गर्ने मुख्य जलमार्ग प्रभावित भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च विन्दुमा पुगेको छ। यसैबीच, बेलायतको युके मेरिटाइम ट्रेड अपरेसन एजेन्सी (युकेएमटीओ) ले ओमानको तटमा एक अज्ञात प्रक्षेप्यास्त्र तेल ट्याङ्करमा ठोक्किएर आगलागी भएको पुष्टि गरेको छ।
सैन्य तनावका बीच कूटनीतिक संवादका प्रयासहरू पनि भइरहेको जनाइएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले मध्यस्थकर्ताहरू मार्फत वासिङ्टनसँग कूटनीतिक संवाद जारी रहेको बताउनुभएको छ।
यसै सन्दर्भमा इरानका आन्तरिक मन्त्री इस्कन्दर मोमेनी दुई दिने भ्रमणका क्रममा इस्लामावाद पुग्नुभएको छ, जहाँ उहाँले पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ र सेना प्रमुख असीम मुनीरसँग भेटवार्ता गर्नुहुनेछ। यस्तै, लेबनानका राष्ट्रपति जोसेफ आउनले मङ्गलबार वासिङ्टनमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट्ने कार्यक्रम तय भएको छ।