म्यान्माको द्वन्द्वले रोहिङ्ग्याको समुद्री पलायन तीव्र, सुरक्षा चुनौती थपिँदै

एजेन्सी, ५ साउन । म्यान्मामा जारी द्वन्द्व र बङ्गलादेशका शरणार्थी शिविरहरूमा बढ्दो अभावका कारण हजारौँ रोहिङ्ग्या शरणार्थीहरू जीवनको जोखिम मोलेर समुद्री मार्ग हुँदै दक्षिणपूर्वी एसियातर्फ पलायन भइरहेका छन्। संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ रोहिङ्ग्याका लागि समुद्री यात्राका क्रममा सबैभन्दा घातक वर्ष सावित भएको थियो भने सन् २०२६ मा पनि मृत्यु र बेपत्ताको यो क्रम थामिएको छैन।

यही जोखिमपूर्ण यात्राबाट जीवित फर्किन सफल २५ वर्षीया राहेला बेगमले आफ्नो कारुणिक अनुभव सुनाउनुभएको छ। सन् २०१७ मा म्यान्माको राखाइन राज्यबाट भागेर बङ्गलादेशको कक्स बजार शरणार्थी शिविर पुग्नुभएकी उहाँ गत अप्रिलमा मलेसिया जाने उद्देश्यले समुद्री यात्रामा निस्कनुभएको थियो। करिब २८० जना यात्रु बोकेको डुङ्गा अन्डमान सागरमा डुबेपछि उहाँले काठको एउटा फलेकको सहारामा दुई दिन र एक रात समुद्रमा तैरिएर ज्यान जोगाउनुभएको थियो।

हाल बङ्गलादेशको कक्स बजार क्षेत्रमा १० लाखभन्दा बढी रोहिङ्ग्या शरणार्थी बसोबास गरिरहेका छन्। बङ्गलादेश सरकारले उनीहरूलाई शिविरबाहिर काम गर्न वा स्वतन्त्र रूपमा आवतजावत गर्न रोक लगाएका कारण धेरैजसो शरणार्थी मलेसिया, इन्डोनेसिया र थाइल्यान्ड पुग्ने जोखिमपूर्ण बाटो रोज्न बाध्य छन्।

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तका अनुसार सन् २०२५ मा ६ हजार ५०० भन्दा बढी रोहिङ्ग्याले समुद्री मार्ग प्रयोग गरेकामा करिब ९०० जनाको मृत्यु भएको वा बेपत्ता भएका थिए। सन् २०२६ को जनवरीदेखि मेसम्म मात्रै कक्स बजारका शिविरबाट दुई हजार ३०० जनाले समुद्री यात्रा सुरु गरिसकेका छन्, जुन गत वर्षको तुलनामा झन्डै दोब्बर हो।

मानव तस्करहरूले राम्रो जीवनको प्रलोभन देखाएर शरणार्थीहरूलाई कक्स बजार नजिकैको टेकनाफबाट ट्रलरमार्फत ठूला जहाजमा राखेर दक्षिणपूर्वी एसियातर्फ पठाउने गरेका छन्। यो सञ्जाल बङ्गलादेश, म्यान्मा, थाइल्यान्ड र मलेसियासम्म फैलिएको छ।
बङ्गलादेशी तटरक्षक बलका लेफ्टिनेन्ट मोहम्मद रनक रहमानका अनुसार यस वर्ष ६१८ जना मानव बेचबिखनका पीडितको उद्धार गरिएको छ। तथापि, सीमित स्रोतसाधन र भौगोलिक जटिलताका कारण तस्करहरूको बलियो सञ्जाल नियन्त्रण गर्न कठिन भइरहेको अधिकारीहरू स्वीकार गर्छन्। कक्स बजार अदालतका सरकारी वकिल तौहिदुल अन्वरका अनुसार हाल करिब ५०० वटा मानव बेचबिखनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छन्।

स्थानीय प्रहरी प्रमुख ए.एन.एम. साजेदुर रहमानका अनुसार रोहिङ्ग्याहरू जुनसुकै मूल्य चुकाएर पनि शिविरबाट बाहिरिन चाहने भएकाले यो समस्या अझ जटिल बनेको छ। युनाइटेड रोहिङ्ग्या काउन्सिलका अध्यक्ष सैयद उल्लाका अनुसार शिविरको कठोर जीवन, दैनिक दुई छाक खाना र अत्यन्त न्यून आर्थिक सहयोग नै पलायनको मुख्य कारण हो। उहाँले रोहिङ्ग्या सङ्कटको दीर्घकालीन समाधान म्यान्मामा स्थायी शान्ति स्थापना र सुरक्षित स्वदेश फिर्ती नै भएको बताउनुभयो।

तर सन् २०२१ को सैन्य ‘कू’ पछि म्यान्मामा जारी गृहयुद्धका कारण त्यहाँ सुरक्षित वातावरण बन्न सकेको छैन। अनुसन्धान संस्था एसीएलइडीका अनुसार म्यान्माको जारी द्वन्द्वमा हालसम्म एक लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ।
समुद्री दुर्घटनापछि पुनः कक्स बजारकै अस्थायी शिविरमा फर्कनुभएकी राहेला बेगमले पीडा व्यक्त गर्दै भन्नुभयो, “भगवानले मलाई कतै पनि शान्ति दिनुभएन, न आफ्नै देशमा, न त यहाँ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *