नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै
काठमाडौँ, ७ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । कम्युनिस्ट आन्दोलनका प्रणेता पुष्पलालको योगदानको स्मरण गर्दै नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) लगायतका विभिन्न कम्युनिस्ट पार्टी र भ्रातृ सङ्गठनहरूले आज विविध कार्यक्रमको आयोजना गरेका छन् ।
वि.सं. १९८१ असार १५ गते रामेछापमा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रूपमा जन्मिनुभएका पुष्पलाल सहिद गङ्गालाल श्रेष्ठका भाइ हुनुहुन्छ । उहाँले वि.सं. २००६ वैशाखमा भारतको कोलकातामा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुभएको थियो ।
नेपाली कम्युनिस्ट आन्दोलनका वैचारिक नेता पुष्पलालले नै कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिस्ट घोषणापत्र’ लाई पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुभएको थियो । उहाँले विभिन्न कृति र लेखमार्फत नेपाली समाजको वर्ग विश्लेषण गर्दै प्रजातान्त्रिक र कम्युनिस्ट शक्तिहरू मिलेर मात्र पञ्चायती व्यवस्था परास्त गर्न सकिन्छ भन्ने ‘संयुक्त जनआन्दोलन’ को अवधारणा अघि सार्नुभएको थियो ।
नेकपा स्थापना गर्नुअघि वि.सं. १९९८ मा उहाँले प्रेमबहादुर कंसाकार लगायतका नेताहरूसँग मिलेर नेपाली प्रजातान्त्रिक सङ्घको समेत गठन गर्नुभएको थियो । प्रवासमा बसेर कम्युनिस्ट गतिविधिलाई अगाडि बढाउनुभएका पुष्पलालको वि.सं. २०३५ साउन ७ गते भारतको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएको थियो ।
स्मृति दिवसका अवसरमा आज काठमाडौँको कीर्तिपुरस्थित चम्पादेवीमा रहेको पुष्पलाल स्मृति पार्क लगायत मुलुकका विभिन्न स्थानमा श्रद्धाञ्जली सभा र अन्तर्क्रिया कार्यक्रमहरू आयोजना गरिएका छन् ।