सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य

सुदूरपश्चिम, २५ असोज । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजार रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ। अघिल्लो सरकारले ल्याएको बजेट फिर्ता लिएर आवश्यक परिमार्जन र पुनरावलोकनसहित नयाँ बजेट प्रस्तुत गरिएको हो।

प्रदेशसभाको आइतबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले बजेट प्रस्तुत गर्नुभएको हो। नयाँ बजेटको आकार अघिल्लो सरकारले गत असार १ गते प्रस्तुत गरेको बजेटकै बराबर छ।

बजेटको खर्च स्रोतमा आन्तरिक राजस्वबाट एक अर्ब ७२ करोड रुपैयाँ, नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट १० अर्ब २४ करोड ९२ लाख ६७ हजार रुपैयाँ र सङ्घीय रोयल्टी बाँडफाँटबाट सात करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यस्तै, वित्तीय समानीकरण अनुदानबाट नौ अर्ब छ करोड ३३ लाख रुपैयाँ, आर्थिक वर्ष २०८२/८३ को विनियोजनबाट बचत हुने रकम नौ अर्ब ६५ करोड रुपैयाँ, ससर्त अनुदानबाट छ अर्ब तीन करोड ५८ लाख रुपैयाँ, सङ्घीय समपूरक अनुदानबाट ३८ करोड ८० लाख रुपैयाँ र विशेष अनुदानबाट ५२ करोड ७६ लाख रुपैयाँ प्राप्त हुने अनुमान बजेटमा गरिएको छ।

तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले गत असार १ गते प्रदेशसभामा बजेट प्रस्तुत गरेको थियो। तर, सत्ता गठबन्धन परिवर्तन भएपछि उक्त बजेट पारित हुन सकेन। त्यसपछि असार २९ गते नेकपा (एमाले) को समर्थनमा नेपाली कम्युनिष्ट पार्टीका नेता खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो।

बजेट पारित हुन नसक्दा प्रदेशमा करिब दुई महिनादेखि बजेट शून्यताको अवस्था थियो। नयाँ बजेट प्रस्तुत भएसँगै प्रदेशको बजेटसम्बन्धी अन्योल अन्त्य हुने अपेक्षा गरिएको छ।

प्रदेशसभाको अर्को बैठक ३० मिनेटपछि बस्ने जानकारी सभामुखले दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *