कक्रोच जनता पार्टीकाे आन्दाेलन चर्किएपछि भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा
नयाँ दिल्ली, १० साउन । शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले करिब एक महिनादेखि निरन्तर गरेकाे आन्दोलन चर्किएपछि शिक्षामन्त्री प्रधानले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।
विगत केही समयदेखि शिक्षा प्रणालीमा सुधारको माग गर्दै भइरहेको विद्यार्थी आन्दोलनका बीच उहाँले पद त्याग गर्नुभएको हो ।
राष्ट्रपति भवनद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको सिफारिसमा राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानको राजीनामा स्वीकृत गर्नुभएको छ । प्रधानको राजीनामासँगै रिक्त रहेको शिक्षा मन्त्रालयको जिम्मेवारी प्रल्हाद जोशीलाई दिइएको छ । जोशीले हाल उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण र नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्दै आउनुभएको छ ।
शिक्षामन्त्री प्रधानको राजीनामाको माग गर्दै नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले करिब एक महिनादेखि निरन्तर आन्दोलन गर्दै आएको थियो । आन्दोलनका क्रममा गत जुलाई १८ मा अनशनमा बसेका प्रख्यात सामाजिक अभियन्ता सोनम वाङचुकलाई दिल्ली प्रहरीले जबरजस्ती उठाएर अस्पताल भर्ना गरेपछि आन्दोलनले झन् उग्र रूप लिएको थियो ।
जुलाई २० मा संसद्को मनसुन अधिवेशन सुरु हुने दिन आन्दोलनकारीहरूले ‘संसद् मार्च’ गर्ने घोषणा गरेका थिए । सो क्रममा प्रहरीले बल प्रयोग गर्दा कैयौँ युवाहरू घाइते भएका थिए । सुरक्षाकर्मीले विद्यार्थीमाथि गरेको कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि यसले राष्ट्रिय राजनीतिक मुद्दाको रूप लिएको थियो ।
यसै विषयलाई लिएर प्रमुख विपक्षी दलका नेता राहुल गान्धी अन्य विपक्षी नेताहरूसहित प्रधानमन्त्री निवासबाहिर धर्नामा बस्नुभएको थियो । चौतर्फी दबाब बढेपछि सरकार आन्दोलनकारीसँग वार्ता गर्न बाध्य भएको थियो । शनिबार केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहसँग भएको तेस्रो चरणको वार्ता सफल भएपछि सीजेपीले आन्दोलन फिर्ता लिँदै कार्यकर्ताहरूलाई घर फर्कन अपिल गरेको छ ।