सुनसरी घटनाबारे रास्वपाले बोलाएको सर्वदलीय बैठक सम्पन्न, सद्भावका लागि सामूहिक अपिल जारी गर्ने सहमति
काठमाडौँ, १३ साउन । सुनसरीमा हालै भएको झडप र त्यसपछि सिर्जना भएको असहज परिस्थितिका सम्बन्धमा साझा धारणा तय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गर्नुभएको सर्वदलीय बैठक सम्पन्न भएको छ।
बैठकमा सहभागी दलहरूले सामाजिक सद्भाव र शान्ति कायम राख्न सामूहिक अपिल जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बैठकमा प्रतिपक्षी दलका नेताहरूले सुनसरी घटनाका सन्दर्भमा सरकारको फितलो उपस्थिति तथा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र गृहमन्त्री सुदन गुरुङको भूमिकामाथि गम्भीर प्रश्न उठाएका थिए। रास्वपा सभापति लामिछानेले भने प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो जिम्मेवारी पूरा गरिरहेको भन्दै सरकारको बचाउ गर्नुभएको थियो।
बैठकमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुनसरी घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यस्ता संवेदनशील विषयहरूको समाधान राजनीतिक दलहरूले सामूहिक प्रयासबाट मात्र खोज्नुपर्ने बताउनुभयो। उहाँले सामाजिक एकता पुनःस्थापित गर्न जनस्तरमा संवाद सुरु गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीबाट यस्ता संवेदनशील घटनामा अपेक्षाकृत सक्रियता र प्रतिक्रिया नआउनु चिन्ताको विषय भएको टिप्पणी गर्नुभयो।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले यति गम्भीर र संवेदनशील विषयमा संवादको नेतृत्व राजनीतिक दलहरूले भन्दा सरकार आफैँले गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले भीड नियन्त्रणका क्रममा सुरक्षा निकायले आवश्यकताभन्दा बढी बल प्रयोग गरेको भन्दै सुरक्षा संयन्त्रको कमजोरी औँल्याउनुभयो। पोखरेलले जिल्ला प्रशासनको अगुवाइमा स्थानीय तहमा सर्वदलीय संवाद सञ्चालन गर्नुपर्ने, सम्बन्धित मन्त्रीले घटनास्थलको स्थलगत निरीक्षण गर्नुपर्ने, पीडितलाई न्यायको प्रत्याभूति दिलाउनुपर्ने र स्थानीय जनप्रतिनिधिहरूलाई मेलमिलाप कार्यमा परिचालन गर्नुपर्ने सुझाव दिनुभयो।