जन्मसिद्ध नागरिकतामा ट्रम्पको कडा प्रहार: ‘बर्थ टुरिजम’ मा पूर्ण प्रतिबन्ध, दुई नयाँ आदेश जारी

एजेन्सी, २२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा रहिआएको १५० वर्ष पुरानो ‘जन्मसिद्ध नागरिकता’को अधिकारमा कटौती गर्न दुईवटा नयाँ कार्यकारिणी आदेशमा हस्ताक्षर गरेका छन्। सर्वोच्च अदालतले यसअघिको यस्तै प्रयासलाई अस्वीकार गरेको केही सातामै ट्रम्पले पुनः नागरिकता सम्बन्धी कडा नीति अघि सारेका हुन्।

राष्ट्रपति ट्रम्पले बिहीबार हस्ताक्षर गरेका दुई आदेशले मुख्य गरी दुई क्षेत्रलाई लक्षित गरेका छन्: १. जन्मसिद्ध नागरिकताको दायरा कटौती: अब बाबुआमा दुवै गैर-नागरिक भएको खण्डमा उनीहरूका सन्तानले स्वतः अमेरिकी नागरिकता पाउने छैनन्। विशेष गरी विदेशी सरकारका कर्मचारी, कुनै विदेशी समूहका सदस्य वा जालसाजीपूर्ण रूपमा अमेरिकामा बसिरहेकाहरूको हकमा यो नियम कडा रूपमा लागू हुनेछ।

२. ‘बर्थ टुरिजम’ मा प्रतिबन्ध: नागरिकता दिलाउने उद्देश्यले मात्र अमेरिका पुगेर बच्चा जन्माउने परिपाटी (बर्थ टुरिजम) माथि पूर्ण रूपमा रोक लगाइएको छ। ओभल अफिसबाट सम्बोधन गर्दै ट्रम्पले १५० वर्ष पुरानो यो नीति अन्त्य गर्ने आफ्नो प्रयासलाई सर्वोच्चले रोकेकामा असन्तुष्टि जनाए। “यो धेरै पहिले नै हुनुपर्थ्यो, हामी हाम्रो राष्ट्रको उदारताको अनुचित फाइदा उठाउने दुर्भावनापूर्ण विदेशी तत्व हरूबाट अमेरिकाको रक्षा गर्दैछौँ,” ट्रम्पले भने। उनले ‘बर्थ टुरिजम’ मार्फत अमेरिकामा लाखौँ बालबालिका जन्मिसकेको दाबी समेत गरे।

ट्रम्प प्रशासनले विशेष गरी रुस र चीन जस्ता प्रतिस्पर्धी देशहरूले अमेरिकामा ‘घुसपैठ’ गर्न यो नीतिको दुरुपयोग गरिरहेको आरोप लगाउँदै आएको छ। धेरै विदेशी नागरिकहरूले पर्यटकीय भिसामा अमेरिका पुगेर बच्चा जन्माउने र ती बच्चाका माध्यमबाट पछि अमेरिकी सुविधा लिने गरेको ट्रम्पको जिकिर छ।
यद्यपि, अमेरिकी सङ्घीय कानुन र संविधानको १४औँ संशोधनले अमेरिकामा जन्मिएका जोसुकैलाई नागरिकताको अधिकार सुनिश्चित गरेको छ। ट्रम्पको यो नयाँ आदेशले पुनः एकपटक कानुनी र संवैधानिक चुनौतीको सामना गर्नुपर्ने विज्ञहरूले बताएका छन्।