कृष्णभिरमा फेरि पहिरो, ग्याबिन वाल भासियो, पृथ्वी राजमार्ग सात ठाउँमा प्रभावित

काठमाडौँ, ९ असोज । पृथ्वी राजमार्ग सडकखण्डअन्तर्गत कृष्णभिरमा पहिरो खसेको छ। भोटेकोशी–त्रिशूलीको बाढीले भदौ १४ गते सडक भासिएपछि अहिले नयाँ ट्र्याक सञ्चालनमा थियो। सोही ट्र्याकको सुरक्षाका लागि बनाइएको ग्याबिन वाल भासिएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी प्रकाश दाहालले जानकारी दिए।

“पहिरो बिहानैदेखि खसिरहेको थियो। पुरानो सडकको ग्याबिन वाल भासिएको छ,” उनले भने। अहिलेसम्म नयाँ ट्र्याकलाई असर नगरेको तर तलबाट त्रिशूलीले कटान गरी पहिरो खस्ने क्रम जारी रहेकाले जोखिम रहेको उनले बताए। बेनीघाट–१० कै तेराङखोला र ज्यामिरेघाटमा पनि पहिरो खसेको डिएसपी दाहालले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले कृष्णभीरमा गएरातिदेखि नै साना–साना पहिरो खसिरहेको जानकारी दिइन्। सँगै पृथ्वी राजमार्ग सडकखण्डमा सात ठाउँमा पहिरो खसेको उनले बताइन्।

“जुवाखोला, ज्यामिरे, परेवाभीर, कमेरेभीरलगायत सात ठाउँमा पहिरो खसेको थियो। केही ठाउँमा जेसिबी लगाएर पहिरो हटाउने काम पनि भइरहेको छ,” उनले भनिन्।

लगातारको वर्षाका कारण पहिरो खस्न थालेपछि प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि राजमार्ग बन्द गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *