धापाखेलमा जमिन भासिँदा साढे दुईतले घर खोलामा खस्यो, तीन जनाको समयमै उद्धार

ललितपुर, १२ असाेज । लगातारको अविरल वर्षाका कारण जमिन भासिँदा ललितपुर महानगरपालिका–२४ धापाखेलमा साढे दुईतले पक्की घर खोलामा खसेको छ । घर खसेर खोला थुनिए पनि समयमै परिवारलाई सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति हुन पाएन ।

प्रहरी प्रभाग धापाखेलका अनुसार स्थानीय सोबितकुमार थापाको घर पहिरोका कारण जोखिममा परेको थियो । असोज ११ गते दिउँसो करिब १ः४० बजे घरको भुइँतलासँग जोडिएको ट्रसको भान्सा कोठा करिब २० मिटर तल खसेको थियो ।

भान्सा कोठा भत्किएपछि मुख्य घरसमेत जोखिममा परेपछि प्रहरी सहायक निरीक्षकको कमाण्डमा चार जनाको प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो ।

प्रहरीले जोखिमको अवस्था मूल्याङ्कन गरी घरमा रहेका तीन जना परिवारका सदस्यलाई तत्कालै सुरक्षित स्थानमा रहेका आफन्तको घरमा स्थानान्तरण गरेको जनाएको छ ।

तर, असोज १२ गते बिहान ६ः३५ बजे साढे दुईतले पक्की घर नै पूर्ण रूपमा भासिएर तल रहेको खोलामा खसेको प्रहरीले जनाएको छ । घर खोलामा खसेपछि खोलाको पानीसमेत थुनिएको छ ।

समयमै परिवारका सदस्यलाई सुरक्षित स्थानमा सारिएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको ललितपुर प्रहरीले जनाएको छ ।

घटनास्थल धापाखेल प्रहरी प्रभागबाट करिब ७०० मिटर पूर्वमा पर्छ । हाल प्रहरी टोली घटनास्थलमा खटिएर थुनिएको खोलाको निकास खुलाउने तथा थप जोखिम न्यूनीकरणको काममा जुटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *