एनएफएलमा तीन नयाँ क्लब थप्ने प्रक्रिया अघि बढ्यो, कात्तिक ३० सम्म बोलपत्र दिन सकिने

काठमाडौँ, १३ कात्तिक — नेपाल फुटबल लिग (एनएफएल) ले लिगमा तीन नयाँ क्लब थप्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि लिगले आज विभिन्न सहरका इच्छुक पक्षलाई क्लब स्थापनाका लागि बोलपत्र पेस गर्न आह्वान गरेको छ।

एनएफएलले विराटनगर, धरान, जनकपुर, वीरगञ्ज, हेटौँडा, भक्तपुर, नेपालगञ्ज र सुर्खेतलगायत सहरलाई लक्षित गरी नयाँ क्लबका लागि प्रस्ताव माग गरेको हो।

नयाँ क्लबका लागि बोलपत्र पेस गर्ने अन्तिम मिति यही कात्तिक ३० गते तोकिएको छ। बोलपत्र फारामको शुल्क ५० हजार रुपैयाँ निर्धारण गरिएको छ। उक्त शुल्क फिर्ता नहुने जनाइएको छ।

क्लब स्थापनाका लागि आवेदन दिने इच्छुक पक्षले आफ्नो व्यावसायिक तथा वित्तीय इतिहास, आगामी १० वर्षको क्लब सञ्चालन योजना र सामाजिक विश्वसनीयतासम्बन्धी विवरण पेस गर्नुपर्नेछ।

नेपाली फुटबललाई व्यावसायिक बनाउने उद्देश्यसहित एनएफएलको पहिलो संस्करण आगामी फागुन १ गतेदेखि सञ्चालन हुँदैछ। पहिलो संस्करणमा घरेलु फुटबलका सात क्लबले सहभागिता जनाउने निश्चित भइसकेको छ।

हाल लिगमा काठमाडौँ रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब, धनगढी एफसी र झापा एफसी आबद्ध छन्।

प्रतियोगिता रङ्गशालाको उपलब्धताका आधारमा ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने योजना छ। तयारी अवधिसहित लिग करिब चार महिना सञ्चालन हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *