एनपीएलमा नेपाली खेलाडीको दबदबा, सुरुवाती ६ खेलमै सबै ‘प्लेयर अफ द म्याच’

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सुरुवाती खेलमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो क्षमता प्रमाणित गरेका छन्। प्रतियोगिताका पहिलो ६ खेलमा ‘प्लेयर अफ द म्याच’ अवार्ड सबै नेपाली खेलाडीले जितेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडी सहभागी प्रतियोगितामा घरेलु खेलाडीले देखाएको यो प्रदर्शनले नेपाली क्रिकेटको सम्भावना र प्रतिस्पर्धात्मक क्षमतालाई उजागर गरेको छ।

पहिलो खेलमा लुम्बिनी लायन्सका शेर मल्लले सुदूरपश्चिम रोयल्सविरुद्ध उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए। उनको प्रदर्शनमा सुदूरपश्चिम ८७ रनमै समेटिएको थियो। उक्त खेलमा लुम्बिनी विजयी भएको थियो।

दोस्रो खेलमा चितवन राइनोजका कमलसिंह ऐरीले विराटनगर किङ्सविरुद्ध ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए। उनको उत्कृष्ट बलिङकै मद्दतमा चितवनले विराटनगरलाई ८ रनले पराजित गरेको थियो।

तेस्रो खेलमा कर्णाली याक्सका युनिश विक्रमसिंह ठकुरीले जनकपुर बोल्ट्सविरुद्ध ४ ओभरमा २२ रन दिँदै ३ विकेट लिए। उनको प्रदर्शनमा कर्णालीले जनकपुरलाई १९ रनले हराएको थियो।

चौथो खेलमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पोखरा एभेन्जर्सविरुद्ध ब्याटिङ र बलिङ दुवैमा प्रभाव जमाए। उनले ३६ बलमा अविजित ५१ रन बनाउने क्रममा ४ चौका र २ छक्का प्रहार गरे भने एक विकेटसमेत लिए। उनको योगदानमा सुदूरपश्चिमले १४६ रनको लक्ष्य ६ विकेटले जितेको थियो।

पाँचौँ खेलमा कर्णाली याक्सका राहुल यादवले काठमाडौँ गोर्खाजविरुद्ध ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए। प्रतियोगिताका सुरुवाती दुई खेलमै ६ विकेट लिएका राहुलले आफ्नो बलिङ क्षमताबाट सबैको ध्यान खिचेका छन्। प्रतिभा खोजी कार्यक्रममार्फत अवसर पाएका उनले नयाँ पुस्ताका खेलाडीको सम्भावनासमेत देखाएका छन्।

छैटौँ खेलमा कर्णाली याक्सका सोमपाल कामीले विराटनगर किङ्सविरुद्ध बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरे। उनले ४ विकेट लिनुका साथै ३२ बलमा अविजित ६२ रन बनाए। उनले ४ चौका र ३ छक्का प्रहार गरेका थिए। ५७ रनमा ५ विकेट गुमाएर दबाबमा परेको कर्णालीलाई सोमपालले जिततर्फ डोर्‍याए। कर्णालीले १८७ रनको लक्ष्य खेल सकिन एक बल बाँकी छँदा ४ विकेटले पूरा गरेको थियो।

नेपाली खेलाडीको प्रभाव बलिङमा मात्रै सीमित छैन। ब्याटिङतर्फ पनि उनीहरूले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन्। सुरुवाती ६ खेलमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा कर्णाली याक्सका लोकेश बम शीर्ष स्थानमा छन्। उनले ५२ बलमा ८७ रन बनाएका छन्। उनको इनिङ्समा ३ चौका र ९ छक्का समावेश थिए।

सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दीपेन्द्रसिंह ऐरी ७८ रनसहित दोस्रो स्थानमा छन्। विदेशी खेलाडी मोइन अलीले ७७, अरिफुल इस्लामले ७५ र पवन सर्राफले ७३ रन बनाएका छन्।

प्रतियोगिताका पहिलो ६ खेलमा पाँच अर्धशतक बनेका छन्। तीमध्ये तीन अर्धशतक नेपाली खेलाडीका नाममा छन् भने दुई विदेशी खेलाडीले बनाएका छन्। नेपालका दीपेन्द्रसिंह ऐरी, लोकेश बम र सोमपाल कामीले अर्धशतक बनाउँदा विदेशी खेलाडीमध्ये मोइन अली र डेभिड मलानले पनि अर्धशतक पूरा गरेका छन्। डेभिड मलानले ५० बलमा ७० रन बनाउँदै प्रतियोगिताको पहिलो अर्धशतक बनाएका थिए।

बलिङतर्फ पनि नेपाली खेलाडी अगाडि देखिएका छन्। सुरुवाती ६ खेलपछि राहुल यादव ६ विकेटसहित सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन्। सोमपाल कामी र अनिल खरेलले समान ५ विकेट लिएका छन्। त्यस्तै हरमित सिंह र किशोर महतोले समान ४ विकेट लिएका छन्।

यस संस्करणमा डेभिड वार्नर, मोइन अली, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज र डेभिड मिलरजस्ता अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडी आबद्ध छन्। उनीहरूको उपस्थितिले एनपीएलको आकर्षण बढाएको छ। तर प्रतियोगिताका सुरुवाती ६ खेलले विदेशी खेलाडीको नाम र अनुभवले मात्रै खेलको नतिजा निर्धारण हुँदैन भन्ने देखाएका छन्।

नेपाली खेलाडीले यही प्रदर्शनलाई निरन्तरता दिन सके घरेलु क्रिकेटको स्तर र खेलाडीको क्षमता विश्वसामु उजागर हुनेछ। यसले नेपाली खेलाडीप्रति अन्तर्राष्ट्रिय लिगहरूको चासो बढाउनुका साथै भविष्यमा अन्य देशका फ्रेन्चाइज लिगमा उनीहरूको सहभागिताको सम्भावनासमेत बलियो बनाउन सक्छ।

यद्यपि प्रतियोगिता भर्खरै सुरु भएकाले सुरुवाती खेलकै आधारमा समग्र निष्कर्ष निकाल्नु हतार हुनेछ। आगामी खेलमा पनि नेपाली खेलाडीले आफ्नो लय कायम राख्न सके एनपीएल नेपाली क्रिकेटका लागि प्रतिभा प्रदर्शन गर्ने महत्त्वपूर्ण मञ्च बन्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *