शुल्क र सिट निर्धारणमा पारदर्शिता नभएसम्म मेडिकल कलेजले भर्ना नलिने
काठमाडौं, ६ मङसिर । शिक्षण शुल्क पुनरावलोकन र सिट निर्धारण प्रक्रियामा पारदर्शिता कायम नभएसम्म निजी मेडिकल तथा डेन्टल कलेजहरूले स्नातक (यूजी) र स्नातकोत्तर (पीजी) तहमा विद्यार्थी भर्ना नलिने बताएका छन् ।
एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको सिटको आधार, मूल्याङ्कन विधि र शिक्षण शुल्क पुनरावलोकन गर्न माग गरेको छ ।
आइतबार जारी विज्ञप्तिमा एसोसिएसनले शैक्षिक सत्र २०८३/०८४ का लागि सिट निर्धारण गर्दा अपनाइएको मापदण्ड, मूल्याङ्कन सूचक, अङ्क र प्रत्येक कलेजको व्यक्तिगत स्कोर कार्ड सार्वजनिक गर्न माग गरेको छ ।
२०७८/०७९ देखि शिक्षण शुल्क पुनरावलोकन नभएको भन्दै एसोसिएसनले पछिल्ला पाँच आर्थिक वर्षमा मुद्रास्फीति २६.६४ प्रतिशत पुगेको र कलेजको सञ्चालन खर्च बढेको जनाएको छ ।
शुल्क तथा सिट पुनरावलोकन कार्यदलले शुल्क समायोजनका लागि सिफारिस गरे पनि कार्यान्वयन नभएको भन्दै एसोसिएसनले सम्बन्धित मन्त्रालय, आयोग, विश्वविद्यालय र कलेजका प्रतिनिधिबीच तत्काल संयुक्त बैठक गरी समस्या समाधान गर्न आग्रह गरेको छ ।
शिक्षण शुल्कको वैज्ञानिक पुनरावलोकन नभएसम्म भर्ना तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्न आर्थिक र व्यावहारिक कठिनाइ हुने एसोसिएसनको भनाइ छ ।
