आजदेखि काठमाडौं फिल्म फेस्टिभल, शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरू सहभागी हुँदै

काठमाडौं, १३ कात्तिक । काठमाडौं महानगरपालिकाको आयोजनामा आजदेखि काठमाडौं फिल्म फेस्टिभल सुरु हुँदैछ। काठमाडौं महानगरपालिकाका कार्यवाहक मेयर सुनीता डंगाेलका अनुसार आइतबारसम्म सञ्चालन हुने महोत्सवमार्फत काठमाडौंको कला, संस्कृति तथा सम्पदाको प्रवर्द्धन, नेपाली चलचित्रको संरक्षण र सिर्जनशील उद्योगको विकास गर्ने लक्ष्य राखिएको छ ।

महोत्सवमा नेपाली तथा अन्तर्राष्ट्रिय चलचित्र, चलचित्रकर्मी र चलचित्र क्षेत्रका विज्ञहरूको सहभागिता रहनेछ। अन्तर्राष्ट्रिय अतिथिका रूपमा चर्चित भारतीय अभिनेत्री शबाना आजमी, सांघाई फिल्म एकेडेमीका प्राध्यापक मार्को मुलर, जापानी चलचित्र निर्देशक ताकायुकी नाकामुरा तथा भारतीय फिल्म प्रोग्रामर दीप्ति डीकुन्हा सहभागी हुँदैछन्।

महोत्सवको उद्घाटन वसन्तपुरमा हुनेछ। चलचित्र प्रदर्शन, मास्टर क्लास तथा प्यानल छलफल भने राष्ट्रिय सभा गृह, नेपाल पर्यटन बोर्ड, जय नेपाल सिनेमा हल र तारागाउँलगायत स्थानमा सञ्चालन गरिनेछ।

नेपाली चलचित्रको इतिहास र संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकका चर्चित चलचित्र ‘कुमारी’, ‘के घर के डेरा’ र ‘सिन्दूर’ विशेष रूपमा प्रदर्शन गरिने महानगरले जनाएको छ। अन्तर्राष्ट्रिय पानोरामा खण्डमा भारत, अमेरिका, फ्रान्स, जर्मनी, अफगानिस्तान र दक्षिण कोरियालगायत देशका फिचर तथा लघुचलचित्र प्रदर्शन हुनेछन्।

नेपाली सिर्जनशील प्रतिभालाई प्रोत्साहन गर्न महोत्सवमा विभिन्न प्रतियोगितासमेत आयोजना गरिनेछ। ‘मेरो संस्कृति, मेरो सम्पदा’ विषयमा आयोजित युथ भिडियो च्यालेन्जमा प्राप्त ३५ आवेदनमध्ये १२ वटा भिडियो छनोट भएका छन्। प्रतियोगिताका उत्कृष्ट तीन भिडियोले क्रमशः एक लाख ५० हजार, एक लाख र ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

त्यस्तै, नेपाल पानोरामा खण्डमा ७५ आवेदनमध्ये छनोट गरिएका १५ वटा वृत्तचित्र, कथानक, एनिमेसन तथा प्रयोगात्मक लघुचलचित्र प्रदर्शन गरिनेछन्। छनोट भएका प्रत्येक चलचित्रका सर्जकलाई एक लाख रुपैयाँ प्रोत्साहन रकम प्रदान गरिने महानगरले जनाएको छ।

महोत्सवमा प्रदर्शन हुने सबै चलचित्र निःशुल्क हेर्न पाइनेछ। यद्यपि, दर्शकले प्रवेशका लागि निःशुल्क टिकट लिनुपर्ने व्यवस्था गरिएको छ।

महोत्सवले नेपाली चलचित्रको प्रवर्द्धन गर्नुका साथै काठमाडौंको कला, संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने महानगरपालिकाको विश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *