सरकारद्वारा एनप्याब्सन निलम्बित, अर्को निर्णय नभएसम्मका लागि प्रतिबन्ध
काठमाडौं, १३ कात्तिक । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ। गृह मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम दिएको निर्देशन पटक–पटक पालना नगरेको भन्दै उक्त संस्थालाई निलम्बन गर्ने निर्णय गरेको हो।
गृह मन्त्रालयले जारी गरेको सूचनाअनुसार, एनप्याब्सनले मन्त्रालयबाट दिइएको निर्देशन बारम्बार उल्लङ्घन गरेको र संस्थाका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्यविपरीतका गतिविधि गरेको पाइएको छ।
मन्त्रालयका अनुसार, यस विषयमा सम्बन्धित सरोकारवाला पक्षहरूसँग २०८३ असोज २३ गते छलफलसमेत गरिएको थियो। सो क्रममा राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा मन्त्रालयले २०८२ मंसिर १२ गते जारी गरेको निर्देशनबमोजिमका कार्य गर्न संस्थालाई आग्रह गरिएको थियो।
तर, मन्त्रालयको आग्रह र निर्देशनअनुसार काम भएको नदेखिएपछि एनप्याब्सनलाई निलम्बन गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम दिइएको निर्देशन पालना नगरेको भन्दै ऐनको दफा ६ को उपदफा (२) अनुसार संस्थालाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको छ।
