समाचार कक्षमै प्रवेश गरी बिनापुर्जी पत्रकार पक्राउ गरिएको घटनाप्रति प्रेस काउन्सिलको आपत्ति
पक्राउको कारण र कानुनी आधार तत्काल सार्वजनिक गर्न माग
काठमाडौं । सञ्चारमाध्यमको समाचार कक्षमै प्रवेश गरी सादा पोशाकमा खटिएका प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर आपत्ति जनाएको छ। काउन्सिलले पक्राउको स्पष्ट कारण र कानुनी आधार सार्वजनिक गर्न सरकार तथा प्रहरी प्रशासनसँग माग गरेको छ।
प्रेस काउन्सिलले पत्रकारलाई पक्राउ गर्दा कानुनी प्रक्रिया पालना नगरिएको, पक्राउ पुर्जी नदेखाइएको तथा अदालतको अनुमतिसमेत नलिइएको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको जनाएको छ।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमको समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिइएको घटनाप्रति संस्थाको ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ।
विज्ञप्तिमा पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको र अदालतको अनुमतिसमेत नलिइएको अवस्थामा पत्रकारलाई नियन्त्रणमा लिनु गम्भीर आपत्तिको विषय भएको जनाइएको छ।
विशेषगरी लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि पत्रकारलाई यसरी नियन्त्रणमा लिइनुले घटनालाई थप संवेदनशील बनाएको काउन्सिलको भनाइ छ। यस्तो कार्यले पत्रकारको व्यक्तिगत तथा व्यावसायिक सुरक्षामाथि मात्र नभई समग्र प्रेस स्वतन्त्रताको अवस्थामाथि समेत प्रश्न उठाएको विज्ञप्तिमा उल्लेख छ।
काउन्सिलले सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीप्रति कसैको असहमति भएमा वा पत्रकार आचारसंहिता उल्लङ्घन भएको भन्दै उजुरी परेमा त्यसको छानबिन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिलकै रहेको सरकार तथा प्रहरी प्रशासनलाई स्मरण गराएको छ।
समाचार सामग्रीप्रति असहमति जनाउँदैमा सिधै प्रहरी परिचालन गरी पत्रकारलाई नियन्त्रणमा लिनुभन्दा काउन्सिलको स्थापित कानुनी विधि र प्रक्रियामार्फत विवाद समाधान गर्नुपर्नेमा विज्ञप्तिले जोड दिएको छ। समाचारको विषयवस्तु र पत्रकारितासम्बन्धी विवादलाई सम्बन्धित नियामक निकायको प्रक्रियाबाट सम्बोधन गर्न पनि काउन्सिलले सम्बद्ध पक्षलाई आग्रह गरेको छ।
यसैगरी, काउन्सिलले नियन्त्रणमा लिइएका पत्रकारको वर्तमान अवस्था, उनीहरूलाई पक्राउ गर्नुको कारण र त्यसको कानुनी आधार तत्काल सार्वजनिक गर्न माग गरेको छ। यदि कानुनी आधारबिना नै पत्रकारलाई नियन्त्रणमा राखिएको हो भने उनीहरूलाई तत्काल रिहा गर्नसमेत काउन्सिलले जोडदार माग गरेको छ।
विज्ञप्तिमा प्रेस स्वतन्त्रताको संरक्षणसँगै जिम्मेवार र मर्यादित पत्रकारिताको आवश्यकतासमेत औँल्याइएको छ। काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमलाई समाचार सम्प्रेषण गर्दा सत्यतथ्यमा आधारित सामग्री प्रकाशन तथा प्रसारण गर्न र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ।
प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारिताको व्यावसायिक मर्यादा कायम राख्ने तथा सञ्चार क्षेत्रलाई स्वतन्त्र र जिम्मेवार बनाउने कार्यमा काउन्सिल सदैव प्रतिबद्ध रहेको विज्ञप्तिमा स्पष्ट पारिएको छ।
समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिइएको घटनाले प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनी शासनको पालनासम्बन्धी बहसलाई थप चर्काएको छ। पत्रकारलाई पक्राउ गर्ने क्रममा कानुनी प्रक्रिया पालना भए–नभएको र नियन्त्रणमा लिनुपर्ने आधार के थियो भन्ने विषयमा सम्बन्धित निकायबाट स्पष्ट जवाफ आउनुपर्ने देखिएको छ।
