लगातारको वर्षाले एनपीएल प्रभावित, खेल नभए टिकटको रकम फिर्ता हुन्छ कि अर्को खेल हेर्न पाइन्छ ?

काठमाडौँ, १४ कात्तिक । लगातारको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ प्रभावित भएको छ । आजका लागि तय भएका दुवै खेल वर्षाका कारण प्रभावित भएपछि टिकट काटेका दर्शकले रकम फिर्ता पाउने वा अर्को दिनको खेल हेर्न पाउने भन्ने विषयमा चासो बढेको छ ।

आज पहिलो खेलमा दिउँसो १२ः३० बजे लुम्बिनी लायन्स र चितवन राइनोज तथा दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने तालिका रहेको थियो ।

तर, पछिल्लो ३० घण्टादेखिको निरन्तर वर्षाले काठमाडौंसहित देशभरको जनजीवन प्रभावित बनेको छ । काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा पनि वर्षाका कारण पानी जमेको छ । मैदान कभरले ढाकिएको भए पनि लामो समयको वर्षाले खेल सञ्चालन गर्न कठिन भएको छ । पारापिटतर्फबाट आएको पानीसमेत मैदानबाहिर जमेको छ ।

वर्षा निरन्तर भइरहेकाले तत्काल कभर हटाएर मैदान खेलका लागि तयार पार्न सकिने अवस्था छैन । पहिलो खेल निर्धारित समयमै सुरु हुने सम्भावना न्यून देखिएको छ । यद्यपि, खेल रद्द भएको औपचारिक घोषणा भने हुन बाँकी छ ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले वर्षाका कारण खेल हुने सम्भावना न्यून रहेको बताएका छन् । प्राविधिक अवस्थाबारे अहिले नै यकिन गर्न नसकिने उल्लेख गर्दै उनले खेल सञ्चालनको सम्भावना कम रहेको बताएका हुन् ।

त्यस्तै, क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले खेल हुन नसके टिकट व्यवस्थापनबारे छलफल भइरहेको जानकारी दिएका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै खड्काले वर्षाका कारण मैदान दलदल बनेको उल्लेख गर्दै साँझको खेल हुने आशा व्यक्त गरे । दुवै खेल सञ्चालन हुन नसके दर्शकको टिकट व्यवस्थापनबारे निर्णय गरिने उनले बताए ।

उनका अनुसार टिकट काटेका दर्शकलाई अर्को दिन आफूलाई अनुकूल हुने खेल हेर्न दिने वा टिकटको रकम फिर्ता गर्ने विकल्पमा छलफल भइरहेको छ ।

‘अन्तर्राष्ट्रिय अभ्यासमा खेल हुन नसके टिकटको रकम फिर्ता गर्ने चलन छैन । तर, विशेष परिस्थितिमा त्यसो नगर्ने कि भन्ने मेरो मान्यता हो,’ खड्काले भने ।

उनले टिकट काटेका दर्शकलाई अर्को खेलमा प्रवेशको व्यवस्था मिलाउन सकिने विकल्पसमेत रहेको बताए । आवश्यक प्रक्रिया पूरा गरेर टिकटको रकम फिर्ता गर्ने वा सोही टिकटबाट दर्शकले आफूलाई अनुकूल अर्को दिनको खेल हेर्न पाउने व्यवस्था गर्न सकिने उनको भनाइ छ ।

खेल हुन नसके दुवै टोलीलाई एक–एक अंक बाँडिने व्यवस्था रहेको पनि कोषाध्यक्ष खड्काले जानकारी दिएका छन् ।

वर्षाका कारण एनपीएलका खेल प्रभावित भइरहँदा अब टिकट काटेका दर्शकको व्यवस्थापन कसरी गरिने भन्ने विषयमा क्यानको आधिकारिक निर्णयको प्रतीक्षा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *