एनपीएल : काठमान्डु गोर्खाजले टस जितेर बलिङ रोज्यो
काठमाडौं, १६ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा काठमान्डु गोर्खाजले कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
काठमान्डु गोर्खाजका कप्तान करण केसीले टस जितेर बलिङ रोजेका हुन् । उनले कर्णाली याक्सलाई पहिले ब्याटिङको निम्तो दिएका छन् ।
अष्ट्रेलियाका चर्चित खेलाडी डेभिड वार्नर आज काठमान्डु गोर्खाजको पहिलो रोजाइमा खेल्दैछन् । उनी साम हिजलेटको स्थानमा टोलीमा समावेश भएका हुन् ।
काठमान्डुले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ । हिजलेट, सुमित महर्जन र हरिशंकर शाहको स्थानमा वार्नर, सन्तोष यादव र देव शाहले खेल्नेछन् ।
यता, कर्णाली याक्सले पनि एक खेलाडी परिवर्तन गरेको छ । बंगलादेशका अकबर अलीको स्थानमा जिशान अलामलाई पहिलो रोजाइमा राखिएको छ ।
कर्णालीले यसअघि खेलेका दुवै खेलमा जित निकाल्दै चार अंक जोडिसकेको छ ।
