उदयपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी, बसाइ कष्टकर
उदयपुर, १८ कात्तिक । उदयपुर कारागारमा क्षमताभन्दा झन्डै चार गुणा बढी कैदीबन्दी राखिँदा उनीहरूको दैनिक जीवन कष्टकर बनेको छ। ६० जनाको क्षमता रहेको चार दशक पुरानो जीर्ण भवनमा अहिले २३२ कैदीबन्दी कोचिएर बस्न बाध्य छन्।
कारागार प्रशासक बैकुण्ठराज रेग्मीका अनुसार कारागारमा २१८ पुरुष र १४ महिला कैदीबन्दी छन्। क्षमताभन्दा बढी कैदी राख्दा खाने, बस्ने, सुत्ने र शौचालय प्रयोग गर्नसमेत कठिनाइ भइरहेको छ।
साँघुरो ठाउँ, जीर्ण संरचना र वर्षायाममा छतबाट पानी चुहिने समस्याले कैदीबन्दीको स्वास्थ्यमा असर परेको छ। गर्मी तथा जाडोमा बिरामी हुने समस्या बढ्ने गरेको रेग्मीले बताउनुभयो। पूर्वाधार अभावका कारण वृद्ध तथा दीर्घरोगी कैदीबन्दीको स्वास्थ्य सुरक्षामा चुनौती थपिएपछि हालै सात जनालाई काठमाडौंस्थित अन्य कारागारमा स्थानान्तरण गरिएको उहाँले जानकारी दिनुभयो।
नयाँ कारागार भवन निर्माणका लागि एक दशकअघि नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी योजना स्वीकृत गरिएको थियो। आर्थिक वर्ष २०७१/७२ मा निर्माण योजना स्वीकृत भए पनि भूकम्प र कोभिड महामारीका कारण बजेट उपलब्ध हुन नसकेको प्रशासनले जनाएको छ।
लामो प्रयासपछि चालु आर्थिक वर्षमा सरकारले नयाँ भवन निर्माणका लागि स्रोत सुनिश्चित गरेको छ। सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय सप्तरीमार्फत निर्माण गर्ने तयारी भए पनि ठेक्का प्रक्रिया अघि बढ्न सकेको छैन।
कारागारको पुरानो भवनका गारो भत्किएका छन् भने पर्खालसमेत कमजोर अवस्थामा छन्। पुरानो प्रविधिबाट काठका बटम र पटाहा प्रयोग गरी ढलान गरिएको भवन जुनसुकै बेला भत्किन सक्ने जोखिम रहेको प्रशासनले जनाएको छ। कैदीबन्दीको जीवन सुरक्षाका लागि नयाँ भवन निर्माण तत्काल अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ।
