आज पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षा
काठमाडौँ, १९ कात्तिक । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने भएको छ । केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज कोशी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ ।
राति गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
यसैगरी, तराईका भूभाग, उपत्यका तथा खोँचमा बिहानको समयमा थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्ने भएकाले दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ ।
