एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

काठमाडौं, २ मंसिर । नेकपा (एमाले) को राष्ट्रिय कार्यकर्ता भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेदेखि सुरु हुने भेलाको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

भेलामा सहभागी हुन अधिकांश प्रतिनिधि काठमाडौं आइसकेको एमालेले जनाएको छ । राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा दिन तथा आगामी स्थानीय तहको निर्वाचनको तयारीका लागि भेला आयोजना गरिएको पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार भेलामा गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयको कार्यान्वयनमा एकरूपता कायम गर्ने विषयमा छलफल हुनेछ । साथै, पार्टीले गर्नुपर्ने १५ वटा महत्वपूर्ण कामका विषयमा समेत छलफल गरिनेछ । भेलाका एजेन्डा यसअघि बसेको स्थायी कमिटी बैठकले अनुमोदन गरिसकेको छ ।

भेलामा केन्द्रीय कमिटी सदस्य, प्रदेश तथा जिल्ला पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसङ्गठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, सङ्घीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी हुनेछन् ।

भेलालाई अध्यक्ष ओलीसहित वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *