एनपीएलः फाइनल प्रवेशका लागि आज चितवन र सुदूरपश्चिम भिड्दै

काठमाडौं, ३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे ४ बजे सुरु हुने खेलको विजेताले फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ ।

पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि सुदूरपश्चिमले फाइनल प्रवेशका लागि दोस्रो अवसर पाएको हो ।

यता चितवनले बुधबार भएको एलिमिनेटरमा काठमाण्डु गोर्खाजलाई ६१ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।

आजको खेल जित्ने टोलीले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *