संरक्षणको अभावमा जीर्ण बन्दै ऐतिहासिक लहरेपौवा
काठमाडौँ, मंसिर ३ । नेपाल एकीकरणको इतिहाससँग जोडिएको रसुवाको उत्तरगया गाउँपालिका ५ माझगाउँस्थित ऐतिहासिक लहरेपौवा संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । विसं २०७२ को गोरखा भूकम्पपछि थप क्षति पुगेको पौवाघरको समयमै मर्मत तथा सम्भार हुन नसक्दा ऐतिहासिक सम्पदा नै लोप हुने जोखिम बढेको छ ।
गोसाइँकुण्ड जाने पुरानो तीर्थमार्गमा पर्ने यो पौवाघर लामो समयदेखि बेवारिसे अवस्थामा रहेको स्थानीयवासीको गुनासो छ । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको संरचना भत्किने अवस्थामा पुग्दासमेत सम्बन्धित निकायले पर्याप्त चासो नदेखाएको स्थानीय अगुवाको भनाइ छ ।
उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले ऐतिहासिक आस्था र पहिचानसँग जोडिएको यस सम्पदाको संरक्षणका लागि गाउँपालिकाले आवश्यक पहल गरिरहेको बताउनुभयो । वडा नं ५ का वडाध्यक्ष यमनाथ आचार्यले सीमित स्रोतसाधनका कारण संरक्षणमा चुनौती रहेकाले प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय भइरहेको जानकारी दिनुभयो ।
ऐतिहासिक दस्तावेज तथा स्थानीय किंवदन्तीअनुसार नेपाल एकीकरण अभियानका क्रममा पृथ्वीनारायण शाहले युद्धमा विजय प्राप्तिको कामनासहित धैबुङमा बस्ने सिद्ध योगी अगस्तिबाट खड्गसिद्धि प्राप्त गर्नुभएको थियो । त्यसप्रति कृतज्ञता व्यक्त गर्दै शाहले अगस्तिलाई बेत्रावतीदेखि माथिको धैबुङ गाउँ सदावर्त गुठीका रूपमा बिर्ता दिनुभएको इतिहास रहेको स्थानीय बताउँछन् ।
सिद्ध योगी अगस्तिले आफ्नी धर्मचेली गौरादेवीलाई उक्त भूमि कुश बिर्ताका रूपमा प्रदान गर्नुभएको थियो । गौरादेवीले बेत्रावतीमा राममन्दिर निर्माण गरी नियमित पूजापाठ गर्ने तथा बेत्रावतीभन्दा माथिल्लो भागमा पर्ने माझगाउँमा पौवाघर बनाएर गोसाइँकुण्ड जाने-आउने तीर्थयात्रीलाई सातु–सामल र बासको व्यवस्था गर्ने सर्तमा गुठी प्राप्त गर्नुभएको स्थानीय इतिहासमा उल्लेख छ ।
त्यसै समयमा डाँडाको लहरैमा तीनवटा पौवाघर निर्माण गरी तीर्थयात्रीलाई सेवा प्रदान गरिएकाले यस बस्तीको नाम ‘लहरै पौवा’ रहन गएको र पछि अपभ्रंश हुँदै ‘लहरेपौवा’ भएको स्थानीयवासी बताउँछन् ।
धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता र परम्परागत तीर्थाटनको इतिहास बोकेको यस सम्पदाको मौलिक स्वरूप जोगाउँदै पुनर्निर्माण गर्न सके धार्मिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने देखिन्छ । सम्पदाको संरक्षणले स्थानीय आर्थिक गतिविधि बढाउनुका साथै भावी पुस्तालाई ऐतिहासिक पहिचान हस्तान्तरण गर्न सहयोग पुग्ने सरोकारवालाको भनाइ छ ।
ऐतिहासिक महत्व बोकेको लहरेपौवाको अस्तित्व जोगाउन सङ्घ, प्रदेश र स्थानीय सरकार तथा समुदायबीच समन्वय गरी तत्काल संरक्षणका काम अघि बढाउनुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् ।
