चितुवा र दुम्सीको आतङ्कले किसानको पशुपालन र खेती सङ्कटमा
काठमाडौँ, मंसिर ३ । जङ्गली जनावरको बढ्दो आतङ्कका कारण जैमिनी नगरपालिका–२ दमेकका किसान पशुपालन र खेतीपातीबाट विस्थापित हुने अवस्थामा पुगेका छन् । चितुवाले पशुचौपायामाथि आक्रमण गर्ने र दुम्सीले खेतीबाली नष्ट गर्न थालेपछि स्थानीय किसान चिन्तित बनेका हुन् ।
पछिल्लो नौ महिनामा दमेकका पाँच किसानका १२ बाख्रा तथा बोका चितुवाको आक्रमणबाट मारिएका छन् । चितुवाले स्थानीय किसान गङ्गाधर सापकोटाका दुई बोका र एक पाठी, रत्न परियारका तीन, नारायण सापकोटाका दुई, मेहन्द्र हमालका दुई तथा गङ्गाबहादुर ठकुरीका दुई बाख्रा तथा पाठा मारेको छ ।
दमेकको गौडा, भैँसेखर्क र टापु क्षेत्रमा रहेका करिब २५ घरपरिवार पशुपालन र खेतीपातीमा निर्भर छन् । चितुवाले खर्कमै पुगेर चरिरहेका बाख्रामाथि आक्रमण गर्न थालेपछि किसानले पशु चराउनसमेत छाड्नुपर्ने अवस्था आएको स्थानीय किसान गङ्गाधर सापकोटाले बताउनुभयो ।
उहाँका अनुसार आसपासका धोद्रे, चिरपानी, खाल्टा, बात्थला र चौडिलालगायत गाउँमा बसाइँसराइ बढेर बस्ती खाली हुन थालेपछि चितुवा र दुम्सीको गतिविधि बढेको हो । स्थानीयका खेतबारी बाँझो रहनु र झाडी विस्तार हुनुले वन्यजन्तु गाउँ पस्ने क्रम बढेको उहाँको भनाइ छ ।
“हाम्रो गाउँमा बसाइँसराइ छैन, तर छिमेकी गाउँ रित्तिँदा खेतबारी झाडीमा परिणत भएका छन् । त्यसपछि चितुवा र दुम्सी गाउँ पस्न थालेका हुन्”, सापकोटाले भन्नुभयो । बाँदरलाई खेतबारीमै पुगेर धपाउन सकिए पनि चितुवा र दुम्सी नियन्त्रण गर्न नसकिएको उहाँले बताउनुभयो ।
अर्का किसान रत्न परियारले चितुवाले खर्कमै पुगेर बाख्रा मार्ने र दुम्सीले खेतीबाली नष्ट गर्ने गर्दा जीविकोपार्जनमा समस्या भएको बताउनुभयो । चितुवा धपाउन नगरपालिकासँग कुकुरको व्यवस्था गरिदिन माग गरेको उहाँले जानकारी दिनुभयो ।
आठ वर्षदेखि व्यावसायिक पशुपालन गर्दै आउनुभएका सापकोटाले सुरुमा २० गाई र २७ बाख्रा पाल्नुभएको थियो । वन्यजन्तुको आक्रमण र अन्य समस्याका कारण पछिल्लो समय बाख्राको सङ्ख्या घटाउँदै लगेको उहाँले बताउनुभयो ।
जैमिनी नगरपालिकामा बढ्दो बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो रहने र झाडी विस्तार हुने क्रम बढेको छ । यसले बाँकी रहेका बस्तीका किसानलाई वन्यजन्तुको जोखिम थपिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश पाण्डेका अनुसार जैमिनी नगरपालिकाबाट बसाइँसराइ गरेर जानेको सङ्ख्या आउनेको तुलनामा बढी छ ।
