प्रवासी नेपालीको सहयोगमा विद्यालय भवन निर्माण

काठमाडौँ, मसिर ३ । प्रवासी नेपालीको आर्थिक सहयोगमा बेनी नगरपालिका–६, जामुनाखर्कस्थित आधारभूत विद्यालयको दुईकोठे भवन निर्माण भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बहराइन र नेपाली क्लब अफ बहराइनको आर्थिक सहयोगमा भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार भवन निर्माणका लागि बहराइनस्थित सहयोगी संस्थाबाट पाँच लाख रुपियाँ र स्थानीयवासीबाट दुई लाख रुपियाँ सङ्कलन गरिएको थियो । कुल सात लाख रुपियाँको लागतमा विद्यालय भवन निर्माण सम्पन्न भएको हो ।

कक्षा ३ सम्म पठनपाठन हुने उक्त विद्यालयमा हाल १६ जना बालबालिका अध्ययनरत छन् । नयाँ भवन निर्माण भएपछि विद्यालयको भौतिक पूर्वाधारमा सुधार हुनुका साथै पठनपाठनका लागि थप सहज हुने अपेक्षा गरिएको छ ।

यसैबीच, बेनी नगरपालिका ६ का वडासदस्य राधिका विश्वकर्माको नेतृत्वमा सहयोगी संस्थाका प्रतिनिधिलाई स्वागत तथा सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *