समाजलाई निराशाबाट मुक्त गर्दै पुनर्जागरणको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओली
काठमाडौं। ३ मङ्सिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाजलाई निराशाबाट मुक्त गर्दै सकारात्मक सोच र पुनर्जागरणको दिशामा अघि बढाउने नेतृत्व एमालेले गर्ने बताउनुभएको छ ।
पार्टीको राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले पछिल्लो समय व्यहोरेको राजनीतिक धक्का निर्वाचनको परिणामले मात्र नभई निर्वाचनअघिदेखि नै सुरु भएको राजनीतिक घटनाक्रमसँग जोडिएको बताउनुभयो ।
उहाँले आफू नेतृत्वको सरकार विस्थापन गर्न निर्वाचनअघि नै विभिन्न गतिविधि र वातावरण निर्माण गरिएको दाबी गर्नुभयो । निर्वाचनपूर्व भएका ध्वंसात्मक गतिविधि र आक्रमणका कारण एमाले प्रतिरक्षात्मक अवस्थामा पुगेको उहाँको भनाइ थियो ।
‘हामी सरकारबाट अपदस्थ हुँदाको अवस्थाको विश्लेषण नगरी राजनीति हुँदैन,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘राजनीति बुझ्नका लागि हाम्रो सरकार विस्थापन गर्न बनाइएको वातावरण बुझ्नुपर्दछ । त्यति नबुझी राजनीति बुझिँदैन ।’
एमालेको सरकार विस्थापन हुनुमा पार्टीको आन्तरिक कमजोरीलाई मात्र कारण मान्न नहुने उहाँले बताउनुभयो । प्राविधिक पक्षलाई मात्र आधार बनाएर राजनीतिक घटनाक्रमको विश्लेषण गर्न नहुने उहाँको भनाइ थियो ।

सामाजिक सञ्जाल र एल्गोरिदमको प्रयोगमार्फत पार्टीलाई जनताबाट टाढा पुर्याउने प्रयास भएको आरोप लगाउँदै ओलीले एमालेविरुद्ध घृणा फैलाइएको र सुरक्षा निकायको अनावश्यक संलग्नतामार्फत निर्वाचन प्रभावित पारिएको दाबी गर्नुभयो ।
‘एल्गोरिदम लगाएर, सामाजिक सञ्जालका माध्यमबाट हामीलाई जनताबाट टाढा पुर्याइयो,’ उहाँले भन्नुभयो, ‘हामीप्रति घृणा फैलाएर, अनावश्यक ढङ्गले सुरक्षा निकायको संलग्नता गराएर एमालेलाई निर्वाचनमा पराजित गराइयो ।’
अध्यक्ष ओलीले राजनीतिक उतारचढावबाट आत्तिन नहुने भन्दै मौसमी छिचिमिराको उदाहरणसमेत प्रस्तुत गर्नुभयो । बर्खायाममा देखिने छिचिमिराको आयु लामो नहुने उल्लेख गर्दै उहाँले क्षणिक प्रवृत्तिसँग डराउन नहुने बताउनुभयो ।
‘यस्ता छिचिमिरा घरको छानामा नपुग्दै कतिपयलाई चराले खाइदिन्छन् । कतिपय आफैँ भुइँमा झर्छन्,’ उहाँले भन्नुभयो, ‘यस्ता प्रवृत्तिविरुद्ध लड्ने र विजय हासिल गर्ने कामको नेतृत्व एमालेले गर्छ ।’
समाजमा फैलिएका भ्रम चिर्ने र नागरिकलाई निराशाको अवस्थाबाट बाहिर निकाल्ने अभियानको नेतृत्व पनि एमालेले गर्ने उहाँले बताउनुभयो । समाजमा सकारात्मक सोचको विकास गर्दै पुनर्जागरण ल्याउने पार्टीको उद्देश्य रहेको उल्लेख गर्दै ओलीले त्यसका लागि एमाले सक्रियतापूर्वक अघि बढ्ने धारणा राख्नुभयो ।
