भारतमा कोरोना संक्रमण क्रमिक रुपमा घट्यो..
काठमाडौं। विश्वमा नै कोरोना संक्रमणको उच्चदर रहेको भारतमा केही दिनयता कोरोना संक्रमण घट्दै गएको छ। दैनिक ४ लाखभन्दा बढीलाई संक्रमण पुष्टि भइरहेको भारतमा पछिल्लो समय संक्रमण घटेकाले केही राहत भएको हो।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा २ लाख ८१ हजार ३ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ। भारतमा २५ दिनपछि पहिलो पटक एक दिनमा ३ लाखभन्दा कममा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमण कम भए पनि मृत्यु हुनेको संख्यामा भने कमी आएको छैन । अहिले पनि भारतमा दैनिक ४ हजारको हाराहारीमा कोरोना संक्रमणबाट मृत्यु भइरहेको छ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट ४ हजार १ सय ६ जनाको मृत्यु भएको छ । त्यस्तै आइतबार भारतमा ३ लाख ७८ हजार ७ सय ४१ जना संक्रमणमुक्त भएका छन् ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषदकाअनुसार आइतबार १५ लाख ७३ हजार ५ सय १५ नमुना परीक्षण गरिएको थियो । त्यस्तै भारतमा अहिलेसम्म १८ करोड २९ लाखभन्दा बढी डोज कोरोना खोप लगाइएको छ ।
भारतमा अहिलेसम्म २ करोड ४९ लाख ६५ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब २ करोड ११ लाख संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ७४ हजार ३ सय ९० पुगेको छ ।