समाजवादीमा किचलोः आले र झाँक्रीले मन्त्री फिर्तामा आनाकानी गरेपछि नेपाल थप पीडामा
काठमाडौँ । पुराना मन्त्रीलाई फिर्ता बोलाउने र नयाँ मन्त्रीलाई जिम्मेवारी दिने नेकपा एकीकृत समाजवादी नेतृत्वको निर्णयले पार्टी भित्र किचलोको पहाड बन्न थालेको छ । मन्त्री पदकै लागि तत्कालिन नेकपा (एमाले) छाडेर समाजवादी बनेका विवादित छविका प्रेम आले, किशान श्रेष्ठलगायतले मन्त्री पद सजिलै नछाड्ने संकेत गरेपछि पार्टी अध्यक्ष माधवकुमार नेपाल थप समस्यामा पर्नुभएको छ ।
अझ मन्त्री पदकै लागि माधवकुमार नेपाललाई पार्टी विभाजनका लागि बाध्य पार्ने रामकुमारी झाँक्रीले समेत मन्त्री पदको कुर्सी सजिलै छाड्ने संकेत नगरेपछि नेपाल थप पीडामा देखिनु भएको छ । स्रोतका अनुसार अध्यक्ष नेपालको कोटेश्वरस्थित निवासमामै बुधबार साँझ समाजवादी कोटाबाट मन्त्री बनेकाहरुसँगको छलफलमा अधिकांश मन्त्रीले पार्टीले अपमान गरेको भन्दै चर्काचर्की गरेपछि हो–हल्ला बाहिरसम्म आएको थियो । अहिलेका मन्त्रीहरुले राम्रो काम गरेको भन्दै कुनै पनि हालतमा मन्त्री पद नछाड्ने र छाड्नै पर्ने भए आफूहरुले राखेका ५ शर्त मान्नै पर्ने भन्दै नेपाललाई हायलकायल बनाएका थिएँ ।
उनीहरुले नयाँ मन्त्रीहरू समावेशी आधारमा छानिनुपर्ने, गैरसांसदलाई मन्त्री बनाउन नहुने, एकै जिल्लाका २ जना मन्त्री बनाउन नहुने, राज्यमन्त्रीलाई मन्त्रीमा बढुवा गर्न नपाइने, राष्ट्रियसभाबाट बजेट पारित हुँदासम्म पर्खने जस्ता माग राखेपछि समाजवादीको राजनीति थप गिजोलिएको अनुमान गर्न थालिएको छ । यता नेपालले पटक–पटक देउवालाई मन्त्री परिवर्तन गर्न आग्रह गर्दा पनि देउवाले वास्ता नगरेपछि गठबन्धन भित्र समेत किचलो सुरु भएको छ । आलेका हरेक कर्तुतमा कान थुनेर बस्नु भएका प्रधानमन्त्री देउवाले नेपालको पीडामा मल्हम लगाउनु होला या नुनचुक थप्नु होला त्यो भने हेर्न बाँकी नै छ ।
