शर्त राख्ने मन्त्रीहरुलाई समाजवादीका प्रवक्ताको चेतावनीः दिन होइन घण्टामा मन्त्रीपरिवर्तन हुन्छ, निर्णय मान्नुपर्छ
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुले पद नछाड्ने भन्दै पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पाँच बुँदे शर्त राखेको चर्चा सेलाउन नपाउँदै पार्टी उपमहासचिवसमेत रहनु भएका प्रवक्ता जगन्नाथ खतिवडाले भने पार्टीमा शर्त नचल्ने भन्दै मन्त्रिपरिषद दिन होइन घण्टा भित्रमा पुनर्गठन हुने बताउनु भएको छ । पार्टी कार्यालय आलोकनगरमा उहाँले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताउनु भएको हो ।
उहाँले सरकारमा पार्टीबाट सहभागी रहेका मन्त्रीलाई फिर्ता आउन भनिसकेको र र ती ठाउँमा पार्टीले यसअघि निर्णय गरेअनुसार कै नयाँ मन्त्री पठाइने जानकारी दिनुभयो । ‘मन्त्री फेर्ने पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्छ। यो अब दिनमा होइन घन्टामा मन्त्री हेरफेर हुन्छ,’ उहाँले भन्नुभयो,’ ‘कहाँ कोसँग छलफल गर्यो भन्ने व्यक्तिगत कुरा हुन्। पार्टीले मन्त्री फेर्ने निर्णय गरेकोले त्यसअनुसार मन्त्री परिवर्तन हुने हो।’
उहाँले पार्टीका नेताहरूलाई छ महिनाका लागि मन्त्री पदमा पठाइएको र अहिले आठरनौ महिना भइसकेको पनि दाबी गर्नुभयो । ‘मन्त्री भन्ने चिज चीरस्थायी होइन। स्थायी सरकार भए पाँच वर्ष हो,’ उहाँले भन्नुभयो, ‘आठ–नौ महिना भयो उहाँहरू मन्त्री भएको। बिदा गर्नुपर्ने स्थिति आयो। कसैले विद्रोह गर्छु भनेको छैन।’
