प्रहरीका आधारभूत तहका कर्मचारीका गुनासो सुनुवाइ गर्न केन्द्रीय डेस्क स्थापना

काठमाडौँ, मङ्सिर ५ ।  नेपाल प्रहरीले आधारभूत तहमा कार्यरत प्रहरी कर्मचारीका समस्या, गुनासो तथा कठिनाइको सुनुवाइ र सम्बोधनका लागि ‘केन्द्रीय गुनासो व्यवस्थापन डेस्क’ स्थापना गरेको छ ।

प्रहरी प्रधान कार्यालयले कर्मचारीका पेसागत तथा सेवागत समस्या निष्पक्ष रूपमा सुन्ने र उचित समाधान गर्ने उद्देश्यले शुक्रबार उक्त डेस्क स्थापना गरेको हो ।

प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले डेस्कको शुभारम्भ गर्दै सियुजी सेवामा आबद्ध आधारभूत तहका ५४ हजार १२२ प्रहरी कर्मचारीलाई एकैसाथ गुनासो दर्ता गर्न सकिने गुगल फर्मको लिङ्क पठाउनुभएको थियो । प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका कर्मचारीलाई उक्त सुविधा उपलब्ध गराइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी नियमावली, २०७१ को नियम १९६ बमोजिम कार्यादेश जारी गरी स्थापना गरिएको डेस्कले आधारभूत तहका प्रहरी कर्मचारीका समस्या तथा गुनासोको निष्पक्ष सुनुवाइ र उचित सम्बोधन गर्नेछ ।

प्रहरी प्रधान कार्यालयका अनुसार डेस्क स्थापनाको मुख्य उद्देश्य प्रहरी कर्मचारीको पेसागत तथा सेवागत जीवनलाई थप सुरक्षित, सम्मानित, मर्यादित र न्यायोचित बनाउनु हो । यस व्यवस्थाबाट तल्लो तहका प्रहरी कर्मचारीले आफ्ना समस्या र गुनासो केन्द्रीयस्तरमै राख्न सक्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *