बागमतीको बजेट वितरणमुखी भएको भन्दै एमालेको आलोचना

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलले प्रदेश सरकारले प्रस्तुत गरेको बजेट वितरणमुखी भएको जनाएको छ । संसदीय दलले बजेट वितरणका लागि सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँगको राजनीतिक सहमतिको उल्लङ्घन गरेकाले संसदीयरुपमा प्रतिवाद गर्ने निर्णयसमेत गरेको छ । संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको अध्यक्षता तथा पार्टीका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीको विशेष उपस्थितिमा दुई दिनसम्म बसेको बैठकले एमालेले अब संसद् बैठकमा खेल्नुपर्ने भूमिकाका बारेमा छलफल भएको थियो ।

सरकारले प्रतिपक्षले निर्वाचन जितेका स्थानीय तह तथा वडामा निकै कम मात्र बजेट पठाएको तथा आफ्नो दलको उपस्थिति भएको एउटै वडामा ६१ भन्दा बढी योजना राखिएको, गलत मनसाय रोखेर कर छुटको व्यवस्था गरिएको, ३५९ भन्दा बढी योजनाको डुप्लिकेसन रहेको लगायतका विषयमा छलफल भएको थियो ।

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९–०८० का लागि ल्याएको बजेटको यस अघि नै नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री सांसद डा. अजयक्रान्ति शाक्यले आलोचना गर्नुभएको थियो । प्रतिपक्षलाई अवहेलना गर्ने उद्धेश्यले बजेट ल्याएको भन्दै बजेटमा एमालेको भावनालाई समेट्न नसकेको उहाँको भनाई थियो ।

‘बजेट काठमाडौंका जनताका लागि हात लाग्यो शून्य जस्तै देखियो,’ उहाँले भन्नुभएको थियो, ‘बजेटका कतिपय कुरा सुन्दा ठिकै लाग्ने तर कार्यान्वयन नहुने देखिएको छ। काठमाडौंले सबैभन्दा बढी राजस्व बुझाउने तर बजेटमा कञ्जुस्याइँ गरेर अन्याय भएको छ।’ बागमती प्रदेशले बुधबार ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ। यो बजेट चालु आर्थिक वर्षको भन्दा करिब १३ अर्ब रुपैयाँले बढी हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *