रामकुमारीलाई उनकै कार्यकर्ताको प्रश्न– ‘हिजो मुखमा लगाएको टेप खोली खोली स्टन्ट मारी मारी गरेको भाषण खोक्रो आदर्श बाहेक के हुन सक्छ ?’

काठमाडौँ । कुनै समय मुखमा टेप टाँसेर अरुको आलोचना गर्ने नेकपा समाजवादीकी नेतृ एवं शहरी विकास मन्त्री अहिले एकपछि अर्को गर्दै आलोचित बन्दै आएकी छिन् । केही समय अघि नै पार्टीले मन्त्री फिर्ता गर्न निर्देशन दिए पनि त्यसलाई लत्याउँदै मन्त्री पदमा लिसो जस्तो टाँसिएर बसेका समाजवादी दलबाट मन्त्री बनेकी झाँक्रीले मन्त्री पदबाट हटाए नयाँ पार्टी खोल्ने सम्मको चेतावनी दिन थालेपछि उनको थप आलोचना भएको छ ।

त्यसो त समाजवादी पार्टीकै विद्यार्थी संगठनका अध्यक्ष सुदेश पराजुलीले समेत झाँक्रीको आलोचना गर्दै सामाजिक सञ्जालमा पोष्ट गर्नु भएको छ । उहाँले ‘केही समय अघि लगाएको टेप खोली खोली स्टन्ट मारी मारी गरेको भाषण त केवल खोक्रोको आदर्श बाहेक के हुन सक्छ त कमरेड ?’ भनी पराजुलीले कडा विरोध गर्नुभएको छ । यता पार्टी महासचिव वेदुराम भुसालले पनि पार्टीले गत वैशाख २२ गतेको सचिवालय बैठकले मन्त्री फिर्ता बोलाउने निर्णय गरेको भन्दै मन्त्रीहरुले बजेटमाथिको मन्त्रालयगत रुपमा जवाफ दिनुपर्ने भएकोले तत्काल रोकियो भन्दै अब फिर्ता हुनुको विकल्प नभएको धारणा राख्नुभयो ।

उहाँले मन्त्रीहरुले पार्टीको निर्णय नमानेर उल्टै सरकारमा टाँसिरहेको भन्दै आलोचना गर्नुभयो । त्यसो त पराजुलीले मन्त्री पदलाई स्थायी जागिर जस्तै ठानिएको भन्दै कडा आलोचना गर्नुभएको छ– ‘म नै राज्य हुँ भन्ने भनाई इतिहासमा फ्रान्सेली राजा लुई चौधौको सुनिन्थ्यो, तर आजभोलि म नै मन्त्री ,मन्त्री नै म’ भन्ने भनाई पनि सुनिन थालियो । म के का लागि जन्मेको हो भने मन्त्री बन्नका लागि मात्र त्यो बाहेक मेरो केहि छैन ।’ कतिपय नेताहरुको सोच नै मन्त्री बन्ने र माफिया दलालको सेटिङमा काम गर्ने र पैसा कमाउने रहेको पराजुलीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *