जनतेता मदन भण्डारी र ७१ औं जन्मजयन्ती

काठमाडौँ । नेकपा (एमाले)का तत्कालीन महासचिव एवं जननेता मदन कुमार भण्डारीको आज ७१ औं जन्मजयन्ती विविध कार्यक्रमसहित मनाइएको छ । मदन भण्डारी फाउन्डेसन र नेकपा (एमाले) ले सातै प्रदेशमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ भने पार्टीसँग आबद्ध जनसंगठनहरुले पनि मदन जयन्तीका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेका छन् । हिजो मात्रै प्रेस चौतारी नेपालले ‘जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तरसंवाद कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमलाई महासचिव शंकर पोखरेल, प्रचार विभाग उपप्रमुख विष्णु रिजाललगायतले सम्वोधन गर्नुभएको थियो । त्यसैगरी ७१ औं मदन जयन्तीकै अवसरमा प्रेस चौतारी नेपाल रूपन्देहीले पनि ‘जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तरसंवाद कार्यक्रम गरेको थियो । सो कार्यक्रमलाई उपाध्यक्ष विष्णु पौडेलले सम्वोधन गर्नुभएको छ ।
आज विहानै कोटेश्वरस्थित मदन भण्डारी बाटिकामा फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीसहित पुगेर मदनको शालिकमा माल्यार्पण गरिएको थियो भने एमालेको पूरानो केन्द्रीय कार्यालय भवन मदननगर बल्खुमा अवस्थित शालिकमा नेताहरुले माल्यार्पण गर्ने कार्यक्रम समेत रहेको थियो ।

ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा २००९ साल आषाढ १४ गते पिता देवीप्रसाद भण्डारी र माता चन्द्र कुमारीको माहिला छोराको रूपमा जन्मिनु भएका भण्डारीको ४१ वर्षको उमेरमै देहान्त भएको थियो । उहाँले पार्टी नेतृत्वको हिसावमा पनि जम्माजम्मी चार वर्ष मात्रै नेतृत्व गर्नुभएको थियो । त्यति छोटो समयमा पनि उहाँले नेपालको कम्युनिष्ट आन्दोलनलाई निकै ठूलो उर्जा दिनुभएका कारण अहिले पनि उहाँको सबैले स्मरण गर्ने गरेका छन् । २०४६ भदौ ९ देखि १४ सम्म सिराहामा आयोजित नेकपा (माले)को चौथो महाधिवेशनबाट उहाँ महासचिवमा निर्वाचित हुनुभएको थियो भने २०५० जेठ ३ गते षड्यन्त्रमुलक ढंगले हत्या गरिएको थियो । २०४७ साल कात्तिकमा नेकपा (माले) को महासचिवका रुपमा सार्वजनिक हुनुभएका भण्डारीले संसदीय वा राजकीय जिम्मेवारीका सन्दर्भमा करिब दुई वर्ष प्रतिनिधिसभा सदस्यका रुपमा काम गर्ने अवसर प्राप्त गर्दा पनि उहाँले नेपालको कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिकरण गर्ने नविन विचारकको छवि बनाउनु भएको थियो । उहाँ छोटो समयमा नेपाली राजनीतिमा स्थापित भएका नेताको रुपमा समेत परिचित हुनुहुन्छ । उहाँले विश्वबाट कम्युनिस्ट शासनहरु ढलिरहेका बेला ९० को दशकमा जनताको वहुदलीय जनवादको नाममा माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै एमालेलाई जनतामा स्थापित गराउन भूमिका खेल्नुभएको थियो ।

त्यसो त भारतको कलकत्तामा आयोजित कम्युनिष्ट पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा मदन भण्डारीले अघि सारेको र अभिव्यक्त गरेको धारणा अनि प्रस्तुत गरेको कार्यपत्र विश्वको कम्युनिष्ट आन्दोलको बहसको एउटा केन्द्र बनेको थियो ।अहिले पनि जनताको बहुलीय जनवादको चर्चा गर्दै गर्दा आजको बदलिँदो अवस्थामा कम्तीमा पार्टीको लोकतान्त्रीकरण, समाजको लोकतान्त्रीकरण र राज्यको लोकतान्त्रीकरण– यी तीनवटा आयामलाई एक आपसमा अन्तरनिहित गरेर हेर्यौं भने मात्रै जबजको सिङ्गो चित्र पाउन सकिन्छ । त्यो भनेको मदनकै योगदान हो । जननेता मदन भण्डारीलाई नेपालमा बामे सर्दै गरेको र प्रमुख शक्तिका रुपमा स्थापित भइनसकेको कम्युनिष्ट आन्दोलनलाई मुलप्रवाहीकरण गरेर प्रमुख शक्तिका रुपमा स्थापित गर्ने दूरद्रष्टाका रुपमा समेत हेरिन्छ ।

नेपाल कम्यनिष्ट पार्टीले २००६ सालमा स्थापना भएपछि २००८ सालको नगर निर्वाचनमा लडेर आफूलाई लोकतान्त्रिक प्रतिस्पर्धामा उभ्याएको इतिहास छ । त्यसैगरी २०१५ सालको निर्वाचनमा तल्लो सदनमा ४ र माथिल्लो सदनमा १ सिट जितेर कम्युनिष्ट पार्टीले आफूलाई जनताबाट प्रमाणित हुनुपर्छ भनेर स्थापित गरिसकेको थियो भने पञ्चायतकालमा पनि जनपक्षीय उपयोगको नीति अवलम्बन गरेको थियो । निर्वाचनलाई एउटा ‘ट्याक्टिस’का रुपमा होइन, अवधारणा (कन्भिक्सन) का रुपमा अंगीकार गरेर मदन भण्डारीले नेपाली समाजको लोकतान्त्रीकरण र अग्रगामी रुपान्तरण गर्नमा साहसिक कदम चालेको कुरालाई पनि नकार्न मिल्दैन ।

यिनै कारणहरुले तीन दशकपछि पनि मदन भण्डारीका विचार र सिद्धान्तलाई सम्झनु पर्ने भएको छ । समग्रमा भन्नुपर्दा, कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरण, समाजको लोकतान्त्रीकरण र राज्यको लोकतान्त्रीकरणका सन्दर्भमा मदन भण्डारीले अघि सारेका अवधारणाहरु आजको सन्दर्भमा हाम्रा मार्गदर्शन हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *