राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेट, के–के भयो कुराकानी ?
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । शीतल निवासमा करीब १ घण्टा भएको भेटमा समसामयिक विषयहरूबारे कुराकानी भएको बुझिएको छ । राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टिका ढकालले नियमित ब्रिफिङका सिलसिलामा भेटवार्ता भएको हो । भेटमा राष्ट्रपति भण्डारीले जनसरोकार र राष्ट्रियतासँग सम्बन्धित विविध विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो ।
मनसुनको सिजन सुरु भएर बाढी–पहिरोका खबर आउन लागेको भन्दै उनले सबै सरकारको तयारीबारे जिज्ञासा राख्नु भएको थियो । जवाफमा देउवाले सरकारका निकायहरू अलर्ट अवस्थामा रहेको बताउनु भएको थियो । यस्तै, राष्ट्रपतिले काठमाडौं उपत्यकामा हैजा देखिएको अवस्थामा यसलाई फैलिन नदिन आवश्यक सतर्कतामा जोड दिनुभएको थियो ।
काठमाडौंका सार्वजनिक तथा निजी सबै स्वास्थ्य संस्था र स्थानीय तहहरूबिच समन्वय गरेर जान उनको सुझाव थियो । प्रधानमन्त्रीले यसमा सबैसँग सरसल्लाह गर्ने भन्दै जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखिने प्रत्याभूति गराउनु भएको थियो ।
