थारु समूदायसँग भएको सहमति कार्यान्वयमा म र मेरो पार्टी नेकपा (एमाले) गम्भीर छः अध्यक्ष ओली
काठमाडौँ । थारु कल्याणकारी सभाका पदाधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी सरकारसँग भएका ६ बुँदे सम्झौता कार्यान्वयनका लागि सकारात्मक भूमिका खेलिदिन आग्रह गरेका छन् । पार्टी मुख्यालय च्यासलमा भेट गरी उनीहरुले पुर्व प्रधानमन्त्री समेत रहनु भएको ओलीसँग यस्तो आग्रह गरेका हुन् । भेटमा अध्यक्ष ओलीले थारु कल्याणकारी सभाका मागप्रति आफू सकारात्मक रहेको बताउनु भएको थियो । आफू प्रधानमन्त्री हुँदादेखि नै थारु समूदायका मागप्रति सकारात्मक रहेको भन्दै आगामी दिनमा पनि ती समूदायका माग पूरा गर्ने सन्दर्भमा आफू र आफ्नो पार्टीले सक्दो सकारात्मक भूमिका खेल्ने बताउनु भएको थियो । ‘म अहिले होइन पहिलादेखि नै तपाईँहरुको मागप्रति सकारात्मक छु,’ उहाँले भेटमा भन्नभयो, ‘म प्रधानमन्त्री हुँदा नै तपाईँहरुसँग ६ बुँदे सहमति भएको हो । त्यसैले म अहिले प्रधानमन्त्री नभए पनि तपाईँहरुका माग सम्वोधनका लागि निरन्तर लड्ने छु ।’
थारु कल्याणकारी सभाले लोकसेवा लगायतका सरकारी निकायहरुमा थारु क्लस्टर छुट्याउनु पर्ने, समावेशी सिद्धान्त अनुसार जनसंख्याको अनुपातमा ६.६ प्रतिशत कोटाको माग सम्वोधन हुनुपर्ने जस्ता माग उनीहरुको छ । समावेशी सिद्धान्त अनुसार जनसंख्याको अनुपातमा ६.६ प्रतिशत कोटाको माग गर्दै अहिले सर्वोच्च अदालतमा मुद्धा दायर भएको छ । उक्त विधेयकमा थारुहरुले पहल गरिदिन पनि आग्रह गरेका थिए ।
जवाफमा अध्यक्ष ओलीले समावेशी सिद्धान्त अनुसार जनसंख्याको अनुपातमा ६.६ लाई ७ प्रतिशत गर्न सकिने तर ६ प्रतिशतमा झार्न नमिल्ने तथ्यको समेत ध्यानाकर्षण गराउँदै अदातलले पनि थारुहरुका पक्षमा न्याय गर्नेमा आफू आशावादी रहेको बताउनुभयो ।
थारु कल्याणकारी सभाले २०७८ साल वैशाख १६ गते प्रधानमन्त्री शेरवहादुर देउवालाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा सरकारसँग थारु कल्याणकारी सभा-थरुहट-थारुवान संयुक्त संघर्ष समितिसँग भएको ६ बुँदे सहमति कार्यान्वयको माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा ७ प्रतिशत थारु आरक्षणको व्यवस्था साथै विगतमा मुक्त कमैया तथा कमलहरी लगायत थारुसँग भएको सम्पूर्ण सहमति कार्यान्वयन गर्न माग गरेको थियो ।
ज्ञापनपत्र बुझाउन एमाले सांसद गंगा चौधरीसहित थारु कल्याणकारी सभाका तर्फबाट महामन्त्री प्रेमीलाल चौधरी, कन्नुलाल चौधरी, कुछतनारायण चौधरी, सुमन चौधरी लगायत च्यासल पुग्नुभएको थियो ।
भेटपछि प्रेमीलालले अध्यक्ष ओली थारुहरुका मागमा सकारात्मक रहेको भन्दै उहाँ गम्भीर ढंगले आफ्नो कार्यकालमा भएका सम्झौता कार्यान्वयनका लागि पहल गरिरहने बचनबद्धता व्यक्त गरेको बताउनुभयो । ‘पूर्वप्रधानमन्त्री ओली हाम्रो माग सम्वोधन गर्ने सन्दर्भमा निकै सकारात्मक पायौँ,’ उहाँले भन्नुभयो, ‘हामी हाम्रो माग सम्वोधन हुनेमा आशावादी छौँ ।’
६ बुँदेमा संविधानमा उल्लेखित व्यवस्था र सम्मानित सर्वोच्च अदालतको फैसला अनुसार राज्यका हरेक तह र तप्कामा थारुहरुको आरक्षणको व्यवस्था तथा सबैखाले थारु समुदायको बारेमा संविधान अनुरुपको व्याख्या र व्यवस्था कायम गर्ने, संविधान बमोजिम थारुभाषी बाहुल्य क्षेत्रमा प्राथमिक तहसम्मको शिक्षा मात्रृभाषामा पठन–पाठनको व्यवस्था गर्ने, कमैया, कमलहरी संघर्ष समितिसँग विगतमा सरकारले गरेको सहमति कार्यान्वयन गर्ने, थारुहट÷थारुवान आन्दोलनका क्रममा सहिद भइ राहत प्राप्त गर्न छुटेका परिवारलाई राहत उपलब्ध गराउने, सहिद परिवारको उचित व्यवस्थापन गर्ने, घाइतेहरुको उपचार गर्नेलगायत छन् ।
