कृषि र पर्यटनलाई जोडेर नेपालको अर्थतन्त्रलाई माथि उठाउन सकिन्छः महासचिव पोखरेल
ललितपुर । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले कृषि र पर्यटनलाई जोडेर नेपालको अर्थतन्त्रलाई माथि उठाउन सक्ने बलियो आधार रहेको बताउनु भएको छ । राष्ट्रिय युवा संघ नेपालले ललितपुरको फर्सीडोल, बुङमतीमा असार १५ को अवसर पारेर आयोजना गरेको रोपाईा विशेष कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो बताउनु भएको हो । ‘कृषि र पर्यटनलाई जोड्ने हो भने नेपालको भविष्यको संभावना छ,’ पोखरेलले भन्नुभयो, ‘नेपालको कृषिलाई आत्मनिर्भर बनाउने र आयत प्रतिस्थापन गर्ने विन्दुमा पुर्याउने मात्रै होइन निर्यात गर्न सक्ने क्षेत्रका रुपमा पनि विकास गर्न सकिन्छ ।’
उहाँले अहिले पनि नेपाल कृषि पैदावर समेत आयत गर्नुपर्ने अवस्था रहेको स्मरण गराउनुभयो । ‘अब त्यसलाई बदल्न जरुरी छ । त्यसका लागि यन्त्र उपकरण र आधुनिक विउ–विजनको माध्ययमबाट खेती प्रणाली अघि बढाउन र कृषिका माध्ययमबाट उत्पादकत्व बढाउन आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘स्वस्थ्यकर खाना कहाँ पाईन्छ ? भन्दा नेपालमा भन्ने विकास गर्न सकियो भने हाम्रो पर्यटन उद्योग पनि फस्टाएर जान्छ भन्ने मान्यताका आधारमा अब नेपालका युवा कृषिमा फर्किनुपर्छ र राष्ट्र निर्माणको आधारका रुपमा अघि बढाउनुपर्छ ।’
पोखरेलले असार १५ लाई नेपाल सरकारले नेपालमा धान खेतीलाई प्रवद्र्धन गर्ने दिवसका रुपमा मनाउने गरेको भन्दै नेपालको संस्कृतिलाई हेर्ने हो भने पनि असार १५ एउटा विशेष पर्व अर्थात् मानो रोपेर मुरी उब्जाउने पर्वका रुपमा नेपाली समूदायमा प्रचलित रहेको बताउनुभयो । ‘यो पर्वलाई हामीले कृषिको आधुनिकीकरण र व्यवसायिकीकरणसँगै राष्ट्रिय संकल्पसँग जोडेर कृषिका माध्ययमबाट नेपाली समाजको रुपमान्तरण गर्ने योजनातर्फ अघि बढ्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘कृषिमा रहेको परम्परागत तरिकालाई क्रमशः आधुनिकीकरण गर्नुपर्ने आवश्यकता छ ।’
उहाँले पछिल्लो समय प्रकृतिसँग वदलाब आइरहेको भन्दै त्यससँग जुध्न प्रकृतिमैत्री उत्पादनमा पनि जोड दिनुपर्ने बताउनुभयो । ‘त्यसमा पनि जैविक उत्पादनमा हामीले जोड दिनुपर्ने अवस्था छ,’ पोखरेलले भन्नुभयो, ‘अहिले नेपालको ठूलो युवा जनशक्ति विदेश पलायन भएको छ । त्यो जनशक्तिलाई मुलुकभित्र नै राख्न सक्ने सामथ्र्य छ भने त्यो भनेको कृषि नै हो । त्यसैले हामीले युवालाई कृषिमा आत्मनिर्भर बनाई स्वदेशमै फिर्ता ल्याउने कुरामा बढी ध्यान केन्द्रित गर्न आवश्यक छ ।’
उहाँले अहिलेको युवा कृषि प्रणालीबाट अलग भैरहेको अवस्थाबाट गुज्रिरहेको भन्दै फेरि युवाहरुलाई कृषि प्रणालीतर्फ फर्काउने कुरामा भूमिका खेल्न जरुरी रहेको बताउनुभयो । ‘कृषिलाई हामीले आधुनिक तरिकाबाट अघि बढाउन खोज्यौँ र कृषिमा प्रविधिको प्रयोग गर्न सक्यौँ भने जति युवा विदेश जानु भएको छ । ती सबै युवालाई कृषिबाटै रोजगारी दिन सकिन्छ,’ उहाँले भन्नुभयो, ‘यो पर्व यहि संकल्पका साथ अघि बढ्न सकोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।’ आजै अखिल नेपाल किसान महासंघले भक्तपुरको सिरुटारमा पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आथित्यतामा १९ औँ राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्वसको आयोजना गरेको छ ।
