अर्थमन्त्रीको गलत काममा प्रधानमन्त्रीको पनि मिलेमतो छ, आउने निर्वाचनमा हामी बहुमत ल्याउँछौँः एमाले महासचिव
कैलाली । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अर्थमन्त्री जनर्दन शर्माको बदमासीमा प्रधानमन्त्रीको पनि मिलेमतो भएको हुनसक्ने बताउनु भएको छ । करको दरमा हेरफेर गरेर सीसीटिभी फुटेज नस्ट गर्नु अर्थमन्त्री शर्माको नीतिगत भ्रष्टाचार भएको भन्दै शर्मालाई कारवाहीमा आलटाल गर्नुले यसमा प्रधानमन्त्री शेरबहादुर देउवाको पनि मिलेमतो रहेको हुनसक्ने उहाँको भनाई छ ।
बझाङ जाने सिलसिलामा आज कैलालीको प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । महासचिव पोखरेलले मुलुकमा एमाले मात्रै वामपन्थी शक्ति रहेको भन्दै नेकपा एस र माओवादीलाई लक्षित गर्दै उनले नेपाली कांग्रेसको साथ लागेकाहरू कम्युनिष्ट नभएको जिकिर समेत गर्नुभयो । उहाँले गठबन्धन सरकार पूर्णरूपमा असफल भएको भन्दै एमालेलाई विस्थापित गर्दा मुलुकले दुर्भाग्य बेहोर्न बाध्य भएको दाबी गर्नुभयो । ‘अर्थतन्त्र डामाडोल छ । मूल्यवृद्धि अत्यधिक छ । पुँजीगत खर्च लकडाउनमा भन्दा पनि खराब भएको छ त्यस अर्थमा ५ दल असफल भएको छ,’ उहाँले भन्नुभयो, ‘यस्तो अवस्थामा पनि गलत काम गर्ने अर्थमन्त्रीलाई बचाउन प्रधानमन्त्री नै लाग्नुभएको छ । प्रधानमन्त्रीको पनि मिलेमतो छ । नत्र छनबिन गरी कारबाही गर्नुपर्छ कांग्रेसकै सांसद पनि मुछिएका कारण प्रधानमन्त्री हच्किएका छन् ।’
उहाँले एमालेलाई बलियो शक्तिको रूपमा स्थापित गरेर अघि बढ्ने र आउने निर्वाचनमा बहुमत ल्याउने उहाँले दाबी गर्नुभयो ।
