दूषित खानेपानी खान बाध्य काभ्रेका बासिन्दा, ५५ प्रतिशत दूषित

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोक जिल्लाका बासिन्दाले ५५ दूषित प्रतिशत खानेपानी प्रयोग गरिरहेको परीक्षणले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले करिब दुई साताको अवधिमा काभ्रेपलाञ्चोक जिल्लाका ४० स्थानमा गरेको खानेपानी परीक्षणबाट ५५ प्रतिशत खानेपानी दूषित भएको प्रमाणित भएको जनाएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयले सदरमुकाम धुलिखेल तथा प्रमुख सहर बनेपा, पनौती, पाँचखाललगायत सबै स्थानीय तहको खानेपानी परीक्षणका क्रममा पानीजन्य रोगको जोखिम पुष्टि भएको जनाइएको छ । परीक्षण गरिएका खानेपानीमध्ये ५५ प्रतिशत खानेपानीमा दिसाजन्य किटाणु (फेइकल कोलिफर्म–इकोली) भेटिएको कार्यालय प्रमुख डा पुरुषोत्तम सेढाईँले बताएका छन् ।

अनुगमन तथा परीक्षणका क्रममा कतिपय खानेपानीका स्रोत तथा सङ्कलन केन्द्र ट्याङ्कीको पानी दूषित देखिएको जनाइएको छ । खानेपानी दूषित हुने समस्या अझै केही समय रहने भएकाले सचेत रहन आग्रह गरिएको छ ।

दुई सातादेखि नै जिल्ला स्वास्थ्य कार्यालय, नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट अस्पताल तथा नगर र गाउँपालिकाको समन्वयमा स्थानीयस्तरका खानेपानी परीक्षण, औषधि व्यवस्थापनकार्य तथा खानेपानी शुद्ध बनाउनेबारे चेतनामूलक कार्यक्रम भइरहेको जनाइएको छ । कार्यालयले जोखिममा द्रूत प्रतिकार्य टोली तयारी अवस्थामा राखेको प्रमुख सेढाईँले बताए । उनले भने, “सम्भावित हैजाको महामारी रोमथामको प्रयास गरिरहेका छौँ ।”

कार्यालयले पातलो चौलानीको पानीजस्तो पखाला लाग्ने, खान–पिउन नसकी झन् बिरामी भएमा, दिसामा रगत देखिएमा, तारन्तार वान्ता भएमा, बालबालिका ज्यादै तिर्खाएमा, उच्च मात्रामा ज्वरो आएमा, धेरैपटक पातलो दिसा गरेमा तुरुन्तै स्वास्थ्य संस्थामा उपचारार्थ जान तथा लैजान अपिलसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *