अमेरिकी सहायक विदेशमन्त्री लु आएको भोलिपल्टै एसपीपी अघि नबढाउने सरकारको लिखित जानकारी
काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आएको भोलिपल्टै सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई दिएको सार्वजनिक गरेको छ । परराष्ट्रमन्त्री नारायण खड्काले ९ साउनमा अमेरिकालाई लिखित जानकारी गराएको संसदलाई जानकारी दिनुभएको छ । मन्त्रिपरिषद्को ६ असार २०७९ को बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेको थियो । तर, अमेरिकालाई औपचारिक पत्र नपठाएको भन्दै सरकारको आलोचना भएको थियो ।
शुक्रबार संसदमा परराष्ट्रमन्त्री खड्काले कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाएको जानकारी दिनुभएको हो । उहाँले आन्तरिक परामर्श आवश्यक भएकाले केही समय लागेको बताउनुभयो । पत्राचार गर्न ढिला गरेको भन्दै कतिपयले संसयसमेत व्यक्त गरे,’ उहाँले भन्नुभयो, ‘यसमा नेपाल सरकारको दृष्टिकोण स्पष्ट थियो र छ ।’
