कनकाईमा सुरक्षाका लागि सिसीक्यामेरा भन्दा‘मास लाइट’ जडान गरिंदै   

झापा : झापाको कनकाईमा सुरक्षाका लागि सिसीक्यामेरा भन्दा‘मास लाइट’ जडान गरिंदैछ ।  नेपाल विद्युत् प्राधिकरण र कनकाई नगरपालिकाको सहकार्यमा ‘मास लाइट’ जडान कार्य धमाधम भइरहेको छ ।

नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार रु दुई करोड ६० लाखको लागतमा चारवटा मास लाइट तथा एक सय स्मार्ट लाइट जडान गरिँदै छ । उक्त कार्यका लागि नगरपालिकाले ६० तथा प्राधिकरणले ४० प्रतिशत लगानी गरेको छ । एउटा मास लाइट जडान गर्न रु १६ लाख खर्च भएको छ । हाल कनकाई नगरपालिकाको कोटीहवन, सुरुङ्गा, दुर्गापुर र लक्ष्मीपुरमा मास लाइट जडान भइरहेको छ ।

उक्त क्षेत्रको दुई स्थानमा मास लाइट जडान भइसकेको छ, पोखरेलले भन्नुभयो, थप दुई स्थानमा जडान जारी छ । सोह्र मिटर अग्लो पोलमा जडान गरिने स्वचालित मास लाइटले एक सय मिटर वरपरसम्म उज्यालो दिन्छ । भरतपुर, पोखरालगायत सहरमा मात्र जडान गरिएको मास लाइट प्रदेश १ मै पहिलोपटक कनकाईमा जडान गर्न लागिएको हो ।

हाल बजार र संवेदनशील क्षेत्रलाई लक्षित गरी जडान गरिएको मास लाइटले बजार क्षेत्रमा हुने चोरीडकैतीलगायत विभिन्न आपराधिक घटनामा कमी आउनुका साथै व्यापारिक क्षेत्रमा समेत मद्दत पुग्ने नगरपालिकाको विश्वास रहेको छ । नगरपालिकाले नगर क्षेत्रमा सिसीक्यामेरासमेत जडान गर्ने योजना बनाएको छ ।