चितवनमा निःशुल्क डाइलायसिसमा रोक
चितवन : चितवन स्थित कलेज अफ मेडिकल साइन्सेजले निःशुल्क मिर्गाैला डायलायसिस नगर्ने जनाएपछि बिरामी र तिनका आफन्तले सरोकारवाला निकायमा ध्यानाकर्षण गराएका छन् ।
सरकारले दिनुपर्ने रकम भुक्तानी नगरेको जनाउँदै कलेजले यही असोज १ गतेबाट निःशुल्क डायलायसिस रोक्ने भन्दै सूचना जारी गरेको हो ।
मिर्गाैलापीडित सरोकार समाज चितवनले जिल्ला प्रशासन कार्यालय चितवन, कलेज अफ मेडिकल साइन्सेज(पुरानो मेडिकल कलेज), भरतपुर महानगरपालिका र स्वास्थ्य कार्यालयमार्फत स्वास्थ्य मन्त्रालय, नर्सिङ तथा स्वास्थ्य महाशाखा काठमाडौँमा ज्ञापनपत्र बुझाएको छ ।
हालसम्म उक्त कलेजमा समाजमा आवद्ध ४७ जनाले निःशुल्क डायलायसिस गराउँदै आएका छन् । कलेजले विगत १४ महिनादेखि मिर्गाैला डायलायसिसवापतको रकम रु एक करोड ५० लाख भुक्तानी प्राप्त नभएको कारण देखाउँदै निःशुल्क सेवा दिन नसक्ने जनाएको छ ।
सरकारको विपन्न नागरिक औषधोउपचार कार्यक्रमअन्तर्गत असार ३१ गते सम्झौता मिति समाप्त भइसकेपछि पनि मानवीय नाताले बिरामीलाई डायलायसिस सेवा दिँदै आएको अस्पतालले जनाएको छ । अस्पतालमा १२ वटा मेसिनले दैनिक तीन सिफ्टमा ३६ जनाको डायलायसिस गर्दै आएको छ ।