भाइरल ज्वरोका बिरामी बढेपछि बागलुङमा विद्यालय बन्द
बागलुङ : बागलुङको गलकोट नगरपालिका–११ रिघामा भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द गरेका छन् । ज्वरो आउने, रुघाखोकी तथा घाँटी दुख्ने लक्षणसहितका बिरामी बढेको रिघा स्वास्थ्यचौकी प्रमुख हेल्थ असिस्टेन्ट लक्ष्मी घर्तीले जानकारी दिनुभयो ।
साविक रिघा गाविसको वडा नं १, २ र ४ वडामा बढी र वडा नं ५ का केहीमा सङ्क्रमण देखिएको उहाँको भनाइ छ । बिरामीलाई सामान्य औषधि दिने काम भइरहेको छ । लामो समय बिरामी भएकाको प्रयोगशाला परीक्षण गर्दा उनीहरूमा टाइफाइडसमेत पोजेटिभ देखिएको छ । गाउँमा बिरामी बढेपछि रिघा स्वास्थ्यचौकीले डेङ्गुको पनि परीक्षण गर्ने तयारी गरेको छ ।
विद्यालयका शिक्षक तथा विद्यार्थी नै भाइरल ज्वरोले ग्रसित भएपछि विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । गलकोट–११ मा रहेको छिचिम्रा पोखरी आधारभूत विद्यालय तीन दिनका लागि बन्द गरिएको प्रध्यानाध्यापक हर्कबहादुर विकले बताउनुभयो ।
सोही स्थानमा गत हप्ता देखि विद्यार्थी र शिक्षकमा स्वास्थ्य समस्या देखिएको जनाएको छ ।