भचा खुसिको निर्मल तीर्थ
सुरेश किरण
काठमाडौं, ११ असोज । मोहनीको अवसरमा मनाइने नवरात्रिको नाम निर्मल तीर्थ हो । स्थानीय भाषामा यो तीर्थलाई भचा खुसि भनिन्छ ।
हाल काठमाडौं महानगरपालिका वडा नं. १५ मा रहेको यो तीर्थ सँगै प्रशिद्ध शोभा भगवतीको मन्दिर पनि रहेको छ । त्यस्तै त्यससँगै विद्याधरी देवी अर्थात विजेश्वरी देवीको मन्दिर विद्यमान रहेको छ ।

भचाखुसि काठमाडौंवासीका लागि अत्यन्त पवित्र तीर्थस्थल रहँदै आएको छ । काठमाडौंवासीहरु स्वयम्भू महाचैत्यको दर्शन गर्न जाँदा यही तीर्थमा स्नान गरेर मात्रै जाने चलन थियो ।
पहिले पहिले ढुंगाको खोंचबाट पानी झर्ने भएकोले यो तीर्थको पानी अत्यन्त कञ्चन हुने गर्दथ्यो । यो तीर्थमा पहेंलो वर्णका अपलाल नागराजको वास रहेको विश्वास गरिन्छ ।
माेहनी–नवरात्रिको दोस्रो दिन यो तीर्थमा स्नान गरी केशावती (बिष्णुमती) नदीे पारी अवस्थित लुतिमरु (इन्द्रायणी) पीठमा पूजा गरिन्छ ।
भचा खुसिको पानी अत्यन्त निर्मल र पवित्र हुने भएकोले यो दोभानको नामै निर्मल तीर्थ रहन गएको मानिन्छ ।

सम्बन्धित देवताथानबाट बाजागाजा सहित आएको टोलीले तामाको घडामा यहाँको पानी भरेर लाने र आफ्ना देवतालाई स्नान गराउने परम्परा रहँदै आएको छ ।
कुनै बेला अत्यन्त घना जंगलको रुपमा रहेको यही नदीको दोभानमा वि.सं. १९९७ सालको माघ महिनामा शहीद गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई गोली हाली मृत्युदण्ड दिइएको थियो ।
त्यतिबेला कुनै अपराधमा दोषी ठहरिएका व्यक्तिलाई यही तीर्थ रहेको दोभानमा पोडे थरका मानिसले काटेर मृत्युदण्ड दिने चलन थियो । नामले ‘निर्मल’ रहे पनि हाल यो नदी अत्यन्तै फोहोर बनेको छ ।

शोभा भगवती छेउ बिष्णुमती नदीमा मिसिनु अघि भचा खुसिमाथि नयाँ र पुराना गरी तीन वटा पुल बनाइसकेको पाइन्छ ।
भक्तपुरमा मनाइने नवरात्रि मेलामा भने आज दोस्रो दिन महेश्वरी घाटमा स्नान गरी श्री महेश्वरी देवी पीठको पूजा गरिन्छ ।
