उत्साह छैन दशैँकाे : आश्रममै मनाउदै
पाल्पा, ११ असाेज । आश्रममा रहेका बृद्द, बृद्धाहरूलाई नजिकिँदै गरेको दशैँको रौनकले छाेएकाे छैन ।
पाल्पाकाे तानसेन वडा नं १ भुँसालडाँडा स्थित रहेकाे निलसागर आश्रममा चौहत्तर वर्षीय श्रीमान्लाई हात समातेर आश्रमको आँगन डुलाउनु फुलसा रास्कोटीको दिनचर्या बनेको छ । उहाँलाई आफ्नो जीवनकालका ५० बढी दशैँहरू सम्झँदा यस वर्षको दशैँ उहाँलाई नरमाइलो लागेको छ ।
पाल्पाको तिनाउँ गाउँपालिका–४ मस्यामका मानबहादुर रास्कोटी र फुलसा गत वर्षदेखि तानसेन वडा नं १ भुँसालडाँडा स्थित निलसागर आश्रममा बस्नुहुन्छ । “अर्कैको घरमा बसेर मेलापात गरी खान्थ्यौँ”, फुलसा भन्नुहुन्छ, “पोहर मेरो आँखा दुख्यो, केही देखिन गाउँलेले आश्रममा ल्याएर छाडे ।”
ती दम्पती सत्र वर्षदेखि अर्कैको घरमा बस्दै आएका थिए । घरपरिवार र अन्य आफन्त नभएका उहाँहरू दशैँमा आश्रममै बस्ने बताउनुहुन्छ । आश्रममा देशका विभिन्न स्थानबाट २५ असहाय र असक्त आश्रित छन् ।
उहाँहरुमध्ये अधिंकाशको घरपरिवार छैनन्, भएकाहरू पनि परिवारबाट अपहेलित हुनुपरेकाे जनाइएको छ । उहाँहरूलाई सबै दशैंको कुनै रौनक छैन ।
रामपुर–७ पाल्पाका ६४ वर्षीय रामचन्द्र आचार्य आश्रममा बस्न थालेको सात महिना भयो । आँखा धमिलो र कान कम सुन्ने उहाँ परिवारमा मनमुटाव भएपछि विरक्तिएर आश्रम आइपुग्नुभएको हो । दुई छोरा, दुई बुहारी र श्रीमती घरमा छन् । “छोराबुहारीलाई टीका लगाइदिने इच्छा त थियो, म आश्रममा छु, यहाँ उनीहरू आउदैनन् बाबु”, उहाँ भन्नुहुन्छ ।
दशैँ नजिकिँदै गर्दा गाउँघरमा चहलपहल बढ्न थालेको छ । घर लिपपोत गर्ने मीठा परिकार पाक्ने र खाने क्रम सुरु भएको छ । तर आश्रममा बस्नेहरूलाई चहलपहलले छोएको छैन ।
मिस्त्री काम गरेर गुजारा चलाउनुभएका तिनाउ–४ मस्यामकै मनबहादुर पुन दुई महिनाअघि आश्रम आइपुग्नुभयो, “पाखुरीमा बल छउञ्जेलमात्र प्यारो होइन्छ”, गहँभरि आँशु पार्दै उहाँले भन्नुभयो, “क्षयरोग लाग्यो, उपचार गर्न सकिन, आश्रममा आइपुगेँ। ” निको नहुञ्जेल घर नजाने उहाँले बताउनुभयो ।
आश्रममा रहेका बिरामीको नजिकको अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको छ । आश्रमका हेरालु गणेश गिरीका अनुसार यहाँ उनीहरूलाई उपचार र खानेबस्ने व्यवस्था मिलाइएको छ । उहाँले भन्नुभयो, “मनकारीले कपडा र खानेकुरा दान गर्दछन्, त्यसैबाट आश्रम सञ्चालन गरिरहेका छौँ ।”
