जात्राका लागि पचली भैरवको श्रृंगार गरिँदै

सुरेश किरण

काठमाडौं, ११ असोज । दशैंकै बेला काठमाडौंको तल्लो भेग अर्थात टेकू–लगन क्षेत्रमा मनाइने पचली भैरव जात्राको लागि त्यप आजु(पचली भैरवको प्रतीक तामाको घ्याम्पो) को श्रृंगार शुरु भएको छ ।

यो त्यप आजुको घ्याम्पो गत वर्षदेखि लगनको नाय्पाचो टोलनिवासी एक गुठियारको घरमा राखिएको थियो । जात्रा जुन गुठियारको पालोमा पर्छ यो घ्याम्पो त्यही गुठियारको घरमा राख्ने चलन छ ।

अस्ति घटस्थापनाका दिन पालो परेका गुठियारको घरबाट निकाली घ्याम्पोलाई खटमा राखेर कोहिटी टोलस्थित चित्रकारको घरमा लगिएको थियो । चित्रकारको घरमा घ्याम्पोको मर्मत सम्भार लगायत आवश्यक रंगरोगनको काम गरिन्छ । यो कामलाई ‘लम्पुं छायेगु’ भनिन्छ । यो काम नेवाः समुदायको पुं जातिले नै गर्नुपर्दछ ।

पुंबाट आवश्यक श्रृंगारको कार्य सकिएपछि त्यप आजुको उक्त घ्याम्पोलाई भिमसेनथान निवासी ‘थकू जुजु’ को घरमा लगिन्छ । मल्लकालमा उक्त क्षेत्रको प्रशासन हेर्न राज्यले नियुक्त गरेका स्थानीय प्रशासकलाई ‘थकू जुजु’ भनिन्छ ।

चौथीका दिन थकू जुजुको घरमा लगी घ्याम्पोलाई आवश्यक आभूषण र पुष्प आदिले श्रृंगार गरिन्छ ।

त्यसपछि त्यही दिन त्यप आजुको घ्याम्पोलाई पचलीको पीठमा लगेर राखिन्छ । यसलाई ‘द्यः गमय् तयेगु’ भनिन्छ । त्यहाँ रातभरि राखेर होम गरिन्छ । उक्त होममा बलि सहित पूजाआजा हुन्छ ।

भोलिपल्ट दिनभरि त्यप आजुलाई स्थानीयवासीको पूजाआजाका लागि खुल्ला गरिन्छ । दिनभरि राखिसकेपछि राति पचली भैरवको मुख्य जात्रा शुरु हुन्छ । यो जात्रालाई स्थानीय नेपालभाषामा ‘पचिमह्रः’ भनिन्छ ।

यो जात्रा काठमाडौंको तल्लो भेगमा रहेको टेकूस्थित पचली भैरवथानदेखि शुरु भई लगन टोल, जैसी देवल, कोहिटी, हिउमत, वन्दे, भिमसेनथान हुँदै हनुमानढोका दरवार क्षेत्रसम्म त्यप आजुलाई बोकेर परिक्रमा गराइन्छ ।

यो जात्रा हुँदा बाजागाजा सहित राज्यका तर्फबाट गुर्जुको पल्टन पनि सहभागी हुने गर्दछ । हनुमानढोका पुगेपछि त्यप आजुको घ्याम्पो फेरि फर्काइन्छ । त्यहाँबाट फर्काएर ल्याएपछि त्यप आजुलाई अर्को वर्षको लागि पालो थापेका अर्का गुठियारको घरमा लगेर राखिन्छ । त्यहाँ राखिएको त्यप आजुको घ्याम्पो अर्को वर्षको घटस्थापनासम्म त्यहीं रहने गर्दछ ।

पचली भैरवको जात्रा मूलतः तान्त्रिक विधिले पूजा गरिएको जाँडले भरिएको त्यप (घ्याम्पो) को जात्रा हो । उक्त घ्याम्पोलाई नै ‘त्यप आजु’ भनिन्छ ।

पहिले पहिले यो जात्रा मध्य राति सञ्चालन गर्ने चलन थियो । हाल भने व्यावहारिकता र सुरक्षा व्यवस्थालाई समेत ध्यानमा राखी साँझ नै जात्रा चलाउन थालिएको छ ।

दश दिनसम्म मनाइने दशैं पर्वको मुख्य दिन दशमीलाई लिइन्छ भने काठमाडौंको तल्लो भेगमा यही पचली भैरवको जात्रा मनाइने पञ्चमीलाई दशैंको प्रमुख दिनका रुपमा लिइन्छ । यो वर्षको मचिमह्रः जात्रा यही असोज १४ गते मनाइँदैछ ।