हेटौँडामा बस दुर्घटना, दुई जनाको मृत्यु, ३६ घाइते

मकवानपुर, १७ असाेज । मकवानपुरकाे हेटौँडामा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिकै बिहान बस दुर्घटना हुँदा झापाको दमक–५ मोडेल क्याम्पस नजिक बस्ने ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी नगरपालिका–८ बस्ने ५१ वर्षीया कल्पना राजवंशीकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी ३६ यात्रु घाइते भएका छन्। काठमाडौँबाट झापातर्फ जाँदै गरेको ना७ख २०३२ नम्बरको रात्रि बस आफैँ अनियन्त्रित भई नालीमा खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दुर्घटनामा घाइते भएका ३६ मध्ये ३० जना उपचारपछि ‘डिस्चार्ज’ भइसकेको र थप उपचारका लागि दुई जनालाई काठमाडौँ र तीन जनालाई भरतपुर ‘रिफर’ गरिएको प्रहरीले जनाएको छ । घाइते एक जनाको भने हेटौँडाको सञ्चो अस्पतालमा उपचार भइरहेको छ ।