‘कुछी भ्वय’ खाएर महाअष्टमी पर्व मनाउँदै नेवार समुदाय

भक्तपुर, १७ असाेज । बडादशैँको आठाैं दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छ ।

नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो । महाअष्टमीको दिन विशेष गरेर केराको पातमा भोज खाने चलन छ । सो समुदायमा कुछी भ्वयको विशेष महत्व छ ।

कुछी भ्वय खान गेडागुडीका विभिन्न परिकार, मासुका विभिन्न परिकार, सगुन, दुई माना चिउरा आदी राखेर कुलका ठूलाेदेखि सानाेसम्म लाइन मिलाएर बसेर खाने गरिन्छ ।

दुई माना चिउरा राखेर खाने भएकाले यस भोजको नाम कुछी भ्वय रहन गएको भनाइ रहेको छ भने संस्कृतिविद्का अनुसार कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकाले यसको नाम कुलछी भ्वय हुन गएको भनाइ छ ।

याे पछि अपभ्रंस भएर कुछी भ्वय हुन गएको पनि भनिन्छ ।

आजै सो समुदायले घरघरमा दशैँको मासु भित्र्याएका छन् । समुदायमा टोल छिमेक मिलेर संयुक्तरुपमा राँगो, खसी, बाेका काटेर भाग लगाउने र घरघरमा मासु भित्र्याउने प्रचलनअनुसार आज दशैँको मासु भित्र्याएको हो ।

मासु भित्र्याउँदा घरको मूलढोकामा राखेर पुजा गर्ने गर्दछ भने मासुलाई भगवानलाई चढाएर मात्र घर भित्र्याउने प्रचलन रहेको छ ।