काठमाडौं महानगरभित्र दर्ता नभएका व्यवसाय एक महिना भित्र दर्ता गर्न महानगरले जारी गर्याे सूचना

काठमाडाैं, २ कार्तिक । काठमाडौं महानगरपालिकाले महानगरभित्र दर्ता नभएका तथा संघ र प्रदेश सरकारबाट इजाजत लिई व्यवसाय गरिरहेकाहरूले महानगरपालिका व्यवसाय दर्ता गरी सञ्‍चालन गर्न सूचित गरेकाे छ ।

महानगरको बबरमहलस्थित राजश्व विभागले सूचना जारी गरेर महानगर क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीहरूले संघ र प्रदेश सरकारबाट इजाजत लिएको तर महानगरबाट अनुमति नलिइएको पाइएको उल्लेख गरेको छ।

काठमाडौं महानगरपालिकाले त्यस्ता व्यवसायीहरूलाई ३० दिनभित्र व्यवसाय दर्ता गरी सञ्चालन गर्न आग्रह गरेको हो।

व्यवसाय नजिकको वडा कार्यालयमा गई दर्ता गर्न सकिने महानगरले जारी गरेको सूचनामा उल्लेख छ।

अनुगमनका क्रममा महानगरमा दर्ता नगरी व्यवसाय गरेको पाइएमा कारबाही गरिने पनि महानगरले जनाएको छ।