तुफानडाँडा जिप दुर्घटनाले मष्टा गाउँ शोकमा

बझाङ, ३ कार्तिक । बझाङको तुफानडाँडामा जिप दुर्घटनामा परेर सात जनाले ज्यान गुमाएपछि मष्टा गाउँ शोकमा ढुबेको छ । सदरमुकाम चैनपुरको सिलदेवी मन्दिरमा बुधबार मेला लागेको थियो । मेलाबाट घर फर्किरहेका मष्टा गाउँपालिकाका यात्रु सवार जिप बुधबार दुर्घटनामा परेको थियो ।

सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका– २, खेतकोट जाँदै गरेको सुपप्र ०१–००१ च ११७ नम्बरको जिप दिउँसो दुर्घटनामा परेको थियाे । कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोक्दा जिप दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ ।

जिप सडकबाट दुई सय मिटर तल खसेको थियो । मष्टा–१ तुफानडाँडामा भएको जिप दुर्घटनामा परेर आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीले बताउनुभयो । उहाँका अनुसार १५ जना घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा मष्टा –२ खेतकोटका १३ वर्षीया सम्झाना खड्का, १५ वर्षीय रोशन खड्का, २८ वर्षीया वसन्ती धामी, १३ वर्षीय प्रचण्ड खड्का, ३८ वर्षीय वीरेन्द्र अधिकारी, सात महिनाकी बालिका दक्षिता कठायत, ५० वर्षीया सिन्कीदेवी भण्डारी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका घर भएका ४२ वर्षीय झरेन्द्र बोहरा छन् ।

दुर्घटनामा घाइते १० जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते चार जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला अस्पताल सिमखेतले जानकारी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *